५ जेष्ठ २०८१, शनिबार

आज देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हिजो शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आजबाट नेपालको धेरै स्थानहरूमा साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो ।

सो प्रणालीको प्रभावका कारण आज आइतबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने देखिन्छ ।

उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !