१३ बैशाख २०८१, बिहिबार

स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको इन्द्रदह


दहचोक काठमाडौँ

पृष्ठभूमि : सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ । डाँडामा रहेको इन्द्रदह स्नान मेलाका अवसरमा भने इन्द्रदह पूरै भरिनु यहाँको अद्भूत विशेषता मानिन्छ ।

परिचय

दहचोक काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका-१ मा पर्दछ । काठमाडौको कलङ्कीदेखि ५ किमिको दूरी उत्तर–पश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिबाट अत्यन्त रमणीय र आकर्षक स्थल मानिन्छ । काठमाडौँ उपत्यका एकसाथ देख्न सकिने सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका स्थानहरु पनि थुप्रै छन् । समुद्री सतहबाट दुई हजार ३७० मिटर उचाईमा रहेको दहचोक काठमाण्डुको कलङ्कीदेखि जम्मा पाँच किमी उत्तर पश्चिममा छ ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा काठमाण्डौ जिल्लाको दहचोकलाई पनि छनोट गरेको छ ।

इतिहास

दहचोमा रहेको कालु पाण्डेको समाधीस्थल ऐतिहासिकतामा आधारित महत्वपूर्ण स्थल हो । सो स्थल इन्द्रदह भन्दा पनि माथि दहचोकको सबैभन्दा अग्लो भागमा रहेको छ । किंवदन्ती अनुसार पृथ्वीनारायण शाहको पहिलो कीर्तिपुर आक्रमणमा वीरगति प्राप्त गरेका कालु पाण्डेले मृत्युपर्यन्त गोरखा जिल्ला देखिने स्थानमा आफ्नो टाउको राख्नु भन्ने इच्छा गरेअनुरुप उनको समाधी बनाई राखिएको हो । केही वर्षअघिसम्म समाधी स्थलका रुपमा मात्र रहेको भएपनि हाल पाण्डेहरुद्धारा सो स्थानमा पक्की समाधीस्थल बनाई तारबारले घेरी सुरक्षित गरिएको छ ।

नेपाल एकीकरणका क्रममा वीरयोद्धा काजी कालु पाण्डेको समाधीस्थल दहचोकमा नै रहनुले त्यहा‘को गरिमा थप उचो बनेको छ । पूथ्वीनारायण शाहले काठमाडौँ विजय गर्न त्यही ठाउँलाई आफ्नो पहिलो रोजाइस्थलका रुपमा प्रयोग गरेका थिए । जसको प्रत्यक्ष प्रमाणका रुपमा ठाउँ ठाउँमा गढीहरु देख्न सकिन्छ । दहचोकको अर्को महत्वपूर्ण पक्ष मनकामना मन्दिर हो । पृथ्वीनारायण शाहले उपत्यका विजयका लागि शक्ति प्राप्त गर्न गोरखा जिल्लाको मनकामना माईको प्रतिमा मूर्ति बनाई मन्दिर निर्माण गरेका थिए । उक्त मन्दिरमा रहेको कोत घरको पूजा व्यवस्था पूथ्वीनारायण शाहको पालादेखि नै सुरु भएको हो, जुन आज पनि निरन्तर चल्दै आएको छ ।

महत्व

आन्तरिक मात्र नभई पर्याप्त विदेशी पर्यटक भित्रिने मुलुककै राजधानी नजिक प्रशस्त्र पर्यटकीय आकर्षणका सम्भावना रहेको दहचोकको महत्व रहेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

काठमाडौँ उपत्यका एकसाथ देख्न सकिने सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका स्थानहरु पनि थुप्रै छन् । दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको सामाधीस्थल, दुई ओडार लगायतका पर्यटकीय स्थल त्यहाँको प्रमुख आकर्षण केन्द्र हुन् । प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन दहचोकस्थित इन्द्रदहमा इन्द्रदह स्नान मेला लाग्छ, मेला भर्न टाढाटाढाबाट हजारौं श्रद्धालु भक्तजन आउने गर्छन् ।

पौराणिक मान्यताहरु

दहचोक स्थित भूते ओडार र जन्ती ओडार अर्को दुई महत्वपूर्ण पक्ष हुन् । प्राचीन किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय बासिन्दाका घरमा कुनै कार्य गर्नुपर्दा चाहिने सम्पूर्ण भाँडाकुँडा भूते ओडारमा आई मागेमा प्राप्त हुने र काम सकेपछि फर्काउनुपर्ने चलन रहेको थियो । पछिल्ला दिनमा आएर भा‘डाकुँडा फर्काउन इच्छा नगर्ने, सरसफाइ नगर्ने आदि कारणस‘गै उक्त अदृश्य शक्तिबाट भाँडाकँुडा दिन छाडेको भन्ने स्थानीय बुढापाकाको भनाइ अहिले पनि जनजिब्रोमा सुन्न पाइन्छ ।

यस्तै जन्ती ओडारबारे पनि रोचक भनाइ प्रचलित छ । प्रचलित किंवदन्तीअनुसार प्राचीनकालमा एक स्थानीय बासिन्दाको घरमा छोरीको विवाहमा पानी परेकाले जन्तीलाई सो ओडारमा लगेर भतेर खुवाउदा त्यहाँ जुठो पर्न गयो । त्यसपछि सबै जन्ती ओडारको ढुङ्गा खसेर किचेर मरेका कारण सो गुफाजस्तो ठाउँलाई जन्ती ओडार भन्न थालिएको हो ।

प्राकृतिक सौन्दर्य

स्वच्छ प्राकृतिक वातावरणमा रमाउँदै छोटो समयको पदयात्राका लागि दहचोक महत्वपूर्ण गन्तव्य बनेको छ । पौराणिक महत्वका इन्द्र दह, कालुपाण्डेको समाधिस्थल, पृथ्वीनारायण शाहले निर्माण गरेको प्राचीन मनकामना मन्दिरको अवलोकन गर्नु पनि पदयात्राको अर्को विशिष्टता हो । प्राकृतिक सौन्दर्यका दृष्टिबाट अत्यन्त रमणीय र आकर्षक स्थल मानिन्छ । काठमाडौँ उपत्यका एकसाथ देख्न सकिने सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका स्थानहरु पनि थुप्रै छन् ।

पर्यटकीय सम्भावना

राजधानीको धुलो, धूवा‘, भीडभाड र कङ्क्रिटमय बन्दै गएको सहरी जीवनबाट एकछिन भएपनि दृश्यावलोकनसहित प्रकृतिको स्वच्छ हावापानी र वातावरणमा रम्ने जो कोहीलाई दहचोक क्षेत्र निकै आकर्षक एवम् रमणीय छ । यहा पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका स्थानहरु प्रसस्त छन् । यस कारण पनि सो स्थानमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गराउन सकिन्छ ।

कसरी पुग्ने ?

पछिल्लो समयमा सीतापाइलादेखि इन्द्रदहसम्म पक्की मोटरबाटोको पनि निर्माण भएको छ । इन्द्रदह नजिकैसम्म मोटरबाटोबाट पनि पुग्न सकिन्छ ।

तस्वीर : आर्ष नेपाल

यो पनि पढ्नुहोस्  

भक्तपुरको धार्मिक पर्यटकीय गन्तव्य नीलबाराही मन्दिर

ललितपुरको पर्यटकीय क्षेत्र गोदावरी र फूलचोकी हाइकिंग

ललितपुर जिल्लाको सुन्दर पर्यटकीय गन्तब्य नागदह

काभ्रे जिल्लाको आकर्षक पर्यटकीय गन्तब्य बल्थली

काभ्रेपलाञ्चोकको सुन्दर पर्यटकीय गन्तव्य तिमाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !