८ बैशाख २०८१, शनिबार

ललितपुरको पर्यटकीय क्षेत्र गोदावरी र फूलचोकी हाइकिंग


गोदावरी र फूलचोकी हाइकिंग

पृष्ठभूमि : गोदावरी जैविक विधिधताले भरिपूर्ण सुन्दर पर्यटकीय क्षेत्र हो । यहाँका बगैचामा बाह्रै महिना ढकमक्क फूल फुल्छन् । गोदावरी जंगलमा रंगीविरंगी चराहरुको चिरविर आवाज सुनिन्छ भने मृगका बथान दैडिन्छन् । जंगलबाट कलकल गर्दै बग्ने नदिको चिसो पानीलाई स्पर्श गर्दा जोकोही रोमाञ्चित हुन्छन् ।

पर्या-पर्यटनका लागि गोदावरी बनस्पती उद्यान एउटा अनुपम उदारण हो । चन्द्र शमसेरले निर्माण गरेको यस उद्यानमा सयौं फूलहरु, दुर्लभ जडिबुटी र विरुवा छन् । हरित गृह, पुष्प बाटिका, जल उद्यान, अनुसन्धानशाला लगायत जैविक बाटिकाले उद्यान सजिएको छ ।

परिचय

यो ललितपुरको गोदावरी नगरपालिकामा पर्दछ । यहाँ उद्यान लगायत चन्द्र शम्सेरको हरियो दरवार र गौतम ऋषिको कुटी, बाह्र बर्षे सिंहअस्त मेला लाग्ने गोदावरी कुण्ड, लाम कुण्ड, गौरी कुण्ड, नौधारा, पञ्चदेवल र सिद्धेश्वर महादेवको मन्दिर जस्ता ऐतिहासिक धार्मिकस्थल घुम्न सकिन्छ ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा ललितपुर जिल्लाको गोदावरी र फूलचोकी हाइकिंगलाई पनि छनोट गरेको छ ।

महत्व

वनस्पतिको संरक्षण(संवद्र्धन, संकलन–अनुसन्धान, जानकारी–सचेतनाका लागि नेपालमा २०१९ सालमा राष्ट्रिय वनस्पति उद्यान, गोदावरीको स्थापना भएको हो । आधा शताब्दी लामो इतिहास बोकेको यो उद्यान अन्तर्रा्ष्ट्रिय तहमा बोटानिकल गार्डेन कन्र्जभेसन इन्टरनेसनलसँग आबद्ध छ । यहाँ नेपालमा पाइनेमध्ये ९ सय ५० प्रजातिका वनस्पति छन् ।

ललितपुर, सातदोबाटोबाट ११ किलोमिटर पूर्व लागेपछि पुगिने यो बोटानिकल गार्डेन गोदावरी नगरपालिका–३ मा छ । फूलचोकी डाँडामुनि बसेको यो उद्यान पर्यापर्यटनका लागि चल्तीमा छ । गत वर्ष मात्रै यहाँ मुलुकका विभिन्न ७ सय २८ वटा शैक्षिक संस्थाबाट ५६ हजार ८ सयभन्दा बढी विद्यार्थी अध्ययन–भ्रमणमा आएका थिए । उद्यानमा बीउ बैंकको स्थापना गरिएको छ जहाँ ३ सय प्रजातिका वनस्पति बीउ सुरक्षित छन् ।

फूलचोकी डाँडामुन्तिर रहेको गोदावरी बगैँचासँगै प्राचीन बुद्धगुम्बाका साथै बाह्र वर्षमा एकपटक गोदावरी मेला अर्थात् सिंहअस्त मेला लाग्ने गोदावरी कुण्ड छ । यहाँको प्राकृतिक गुफाको ढुंगाको कापबाट आइरहेको स्वच्छ, निर्मल पानी बगिरहने पाँचवटा ढुंगेधारा र कुण्ड नै १२ वर्षे मेलामा नुहाउने पवित्र जल कुण्ड रहेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

सूर्य्सिंह राशिमा बसेर हस्ता नक्षत्र परेको दिनलाई सिंहहस्ता भनिन्छ । प्रत्येक १२ वर्षमा एकपटक वृहस्पति ग्रह सिंह राशिमा अस्त हुने समय भाद्र महिनाको १ गतेबाट एक महिनासम्म गोदावरी कुण्डमा नुहाउने महामेला लाग्दछ । नेपाल र भारतदेखि टाढाटाढाबाट भक्तजन गोदावरीको १२ वर्षे मेला भर्न यस महातीर्थमा आउने गर्दछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

गोदावरीको यो १२ वर्षे महामेला पाँचौँ शताब्दीमा किरातकालीन राजाको पालादेखि सुरु भएको ऐतिहासिक तथ्य छ । सूर्य सिंह राशिमा रहुन्जेल र सिंह राशिमा वृहस्पति अस्त रहेको समय अवधिसम्म एक महिना सिंह अस्त मेला अर्थात् गोदावरी मेला लाग्ने चलन छ । सूर्य हरेक भाद्र महिनामा सिंह राशिमा प्रवेश गर्छन् तर बृहस्पति सिंह राशिमा अस्त हुन १२ वर्ष लाग्छ ।

स्कन्दपुराणको हिमवत् खण्डमा गोदावरी महातीर्थको बोला चर्चा गरिएको छ । हिमवत खण्डको नेपाल महात्म्य अध्याय १८७ मा सिंहमा बृहस्पति भएको बेला गोदावरी महातीर्थमा स्नान गर्नाले पापरहित भई कोटी संख्याको गाई दान गरेसरहको फल प्राप्त हुन्छ भनिएको छ । यस अवधिमा स्वर्गबाट समेत तेत्तीय कोटी देवता आई त्रिकाल स्नान गर्छन् भन्ने धार्मिक मान्यता रही आएको छ ।

बाह्र वर्षमा एकपटक हुने यस महामेलामा गोदावरी कुण्डमा स्नान गरेर सिद्धेश्वर महादेवको दर्शन गरेमा सयौं वर्ष पुरानो रोग, विषम ज्वर जस्ता रोग नाश भई रुद्रलोक प्राप्त हुनेछ भन्ने धार्मिक जनविश्वास छ । गोदावरीमा यसरी १२ वर्षे महामेला लागिरहको अवधिमा पानीमा तेल राखी दिएमा पानीमाथि तेल नतर्की पानीमुनि नै जान्छ भन्ने पनि मान्यता छ ।

गोदावरी कुण्डको मेलाबारे प्रचलित विभिन्न आख्यानमध्ये एउटा आख्यान यस्तो छ । सप्तर्षिमध्येका एक गौतम ऋषिले भारतको गोदावरीबाट आई फुलचोकी डाँडामुनि रहेका सिद्धेश्वर महादेवको तपस्या गरिरहेको बेलामा त्यहीँ चराउन ल्याइएको एउटी कैली गाई भीरबाट लडेर मरेछ । आफ्नै अगाडि गाई मरेकोदेखि गौतम ऋषि अत्यन्तै दुःखी भइरहेको बेला महादेवले गौतम ऋषिलाई दर्शन दिँदै भारतको गोदावरीमा दिनहुँ गई स्नान गरेर यहाँ आर्य फुलचोकीका सिद्धेश्वर महादेवको शिवलिङ्गमा दिनहुँ जल चढाउने गरेमा सम्पूर्ण पाप नष्ट हुने वरदान दिई अन्तरध्यान भएछन् ।

ऋषिले पनि आफ्नो योगबलतन्त्र शक्तिद्वारा दिनहुँ भारतको गोदावरीमा गई स्थान गरेर त्यहाँबाट जल ल्याई सिद्धेश्वर महादेवलाई जल चढाएर छायादर्शन गर्ने गरेछन् । एक दिन सिंह अस्त मेला परेको दिन सूर्य, चन्द्र र बृहस्पति सिंह राशिमा प्रवेश भएका दिनमा गौतम ऋषि त्यहीँ नै सिद्ध भएका हुन् भनिन्छ ।

हरेक वर्ष यसै समयमा हुने फूलचोकी माईको मेला यस वर्ष वाह्रवर्षे गोदवारी मेला परेकाले फुलचोकी माईको मेला पनि अत्यन्तै रमणीय बन्न पुगेको छ । करिब २० माइल क्षेत्रफलमा फैलिएको प्रकृतिको राजधानी जस्तै देखिने गोदावरी बौद्धदेवी फूलचोकी माई र प्राकृतिक फूल र रुखहरु भएकाले नेपालको एउटा प्रसिद्ध तीर्थस्थलका रूपमा प्रसिद्ध छ ।

लगनखेलबाट करिब ६ किमी दक्षिण हरिसिद्धि, ठैब बाडेगाउँ भई गएपछि गोदावरी पुगिन्छ । गोदावरीमा भएको फुलचोकी डाँडा ९००३ फिट अग्लो छ । काठमाडौं उपत्यका घेरिरहेका डाँडाहरु शिवपुरी (८,९६२ फिट), मणिचुड दह (७,२०० फिट), महादेव पोखरी (७१० फिट), त्रिवेणी डाँडा (६,९५३ फिट), र चम्पादेवी (७,३७३ फिट), चन्द्रागिरि (७,९५० फिट), नागार्जुन (६,३३० फिट) र नगरकोट (५,९३३ फिट) अग्ला डाँडामध्ये सबैभन्दा अग्लो डाँडा हो फूलचोकी । गोदावरी ९ धाराबाट करिब २ माइल हिँडेर पुग्न सकिने फुलचोकी माई बौद्ध चैत्यमा जाने बाटो डाँडामा करिब २० जातका सुनगाभा फुललगायत विभिन्न फूल, रुख र बाक्लो घना जंगल छ ।

प्राकृतिक सौन्दर्य

गोदावरी जैविक विधिधताले भरिपूर्ण सुन्दर पर्यटकीय क्षेत्र हो । यहाँका बगैचामा बाह्रै महिना ढकमक्क फूल फुल्छन् । गोदावरी जंगलमा रंगीविरंगी चराहरुको चिरविर आवाज सुनिन्छ भने मृगका बथान दैडिन्छन् । जंगलबाट कलकल गर्दै बग्ने नदिको चिसो पानीलाई स्पर्श गर्दा जोकोही रोमाञ्चित हुन्छन् ।

फूलचोकी डाँडामा उपत्यकाका धेरै मानिस प्राकृतिक सौन्दर्य हेर्न र वनभोज मानउन बेलाबेलामा जाने गर्दछन् । जाडोयाममा हिउँ पर्दा पनि यहाँ युवायुवतीको भीड लाग्छ अनि उनीहरु हिउँमा खेलेर रमाउने गर्छन् । वर्षायाममा भने यहाँ पहिरो जाने गर्छ त्यसैले पानी नपरेको समय पारेर जाने गर्नुपर्छ । यहाँ बौद्धमार्गीले पनि पूजाआजा गर्छन् । विशेषतः धलं दनेगु विशेष पूजा पनि गर्ने चलन छ ।

भिक्षा भन्टेहरुले उपासक उपासिकालाई त्यहाँ लगेर फुलचोकी माई बुद्धचैत्यमा पूजापाठ गराइरहन्छन् । डाँडामाथिसम्म गाडी लान मिल्ने भएकाले पनि फुलचोकी माई बौद्धचैत्य विहारलाई मान्नु त स्वाभाविकै भयो त्यसमा पनि यही दिन फुलचोकी माईको मेला भएकाले यहाँ भक्तजनको अझ बढी भीड लाग्ने गर्दछ ।

पर्यटकीय महत्व

गोदावरी तथा फुलचोकी पर्यटकीय महत्वको स्थान हो । पर्यटक तथा नागरिक उडड्यान मन्त्रालयले गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा बिकास हर्ने लक्ष्य लिएको छ ।

पर्यटकीय सम्भावना

फूलचोकी डाँडामा उपत्यकाका धेरै मानिस प्राकृतिक सौन्दर्य हेर्न र वनभोज मानउन बेलाबेलामा जाने गर्दछन् । जाडोयाममा हिउँ पर्दा पनि यहाँ युवायुवतीको भीड लाग्छ अनि उनीहरु हिउँमा खेलेर रमाउने गर्छन् । वर्षायाममा भने यहाँ पहिरो जाने गर्छ त्यसैले पानी नपरेको समय पारेर जाने गर्नुपर्छ । यहाँ बौद्धमार्गीले पनि पूजाआजा गर्छन् । विशेषतः धलं दनेगु विशेष पूजा पनि गर्ने चलन छ । भिक्षा भन्टेहरुले उपासक उपासिकालाई त्यहाँ लगेर फुलचोकी माई बुद्धचैत्यमा पूजापाठ गराइरहन्छन् । डाँडामाथिसम्म गाडी लान मिल्ने भएकाले यहा पर्यटक हरु पुग्न सक्दछन ।

कसरी पुग्ने ?

काठमाडौंदेखि ललितपुरको सातदोबाटो हुँदै करिव १ घण्टा गाडीको यात्रावाट गोदावरी पुग्न सकिन्छ । फूलचोकी समुद्र सतहदेखि २७ सय ५० मिटर उचाइमा छ । तीन घन्टाको उकालो चढेर जान सकिने यो स्थानबाट सुन्दर हिमालय शृंखलाको अवलोकनका साथै पहाडी दृष्यको समेत अवलोकन गर्न सकिन्छ । फूलचोकीबाट अन्नपूर्ण तथा गौरीशंकर हिमाल देख्न सकिन्छ ।

तस्वीर : राम कुमार अधिकारी (अल्पाइन इको ट्रेक)

यो पनि पढ्नुहोस्  

ललितपुर जिल्लाको सुन्दर पर्यटकीय गन्तब्य नागदह

काभ्रे जिल्लाको आकर्षक पर्यटकीय गन्तब्य बल्थली

काभ्रेपलाञ्चोकको सुन्दर पर्यटकीय गन्तव्य तिमाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !