१२ बैशाख २०८१, बुधबार

ललितपुर जिल्लाको सुन्दर पर्यटकीय गन्तब्य नागदह


नागदह

पृष्ठभूमि : मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौं उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ । स्थानीय बासिन्दा यो दहलाई पौराणिक वासुकी नागको निवासस्थल मान्छन् ।

परिचय

नेपालको बागमती अञ्चल, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित सांस्कृतिक महत्वको प्राकृतिक पोखरी हो । पोखरीको क्षेत्र करिब पाँच हेक्टर छ र मुख्य स्रोत एक प्राकृतिक झरना हो । चक्रपथबाट करिब ९ किमि मात्र टाढा पर्छ । नागदह विसं २०२१को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

दक्षिण ललितपुरको धापाखेलमा रहेको नागदह धार्मिक तथा ऐतिहासिक दुवै नजरबाट उत्तिकै महत्वपूर्ण छ । यहाँका नाग मन्दिर र सप्तर्षि मन्दिरमा प्रत्येक वर्ष नागपञ्चमी र ऋषि पञ्चमीका दिन ठूलो मेला लाग्छ । त्यसैले धार्मिक र सांस्कृतिक महत्व पनि बोकेको छ नागदहले ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

नागदहका सम्बन्धमा केहि पौराणिक कथाहरू छन् । कुनै समयमा भगवान् शिव नागदहमा बस्न आएका थिए । तर बज्रवाराही देवी धेरै चिन्तित भएकी थिइन् । उनले सोचिन्, भगवान शिव नागदहमा बस्न आए भने कसैले देवीलाई पूजा गर्ने छैनन् । त्यसैले आफ्नो ईश्वरीय शक्तिको उपयोग गरेर उनले आफूलाई सुँगुरमा परिणत गरी त्यस क्षेत्रमा बसेर हल्लाखल्ला र फोहोर गर्न थालिन् । भगवान् शिवलाई त्यस क्षेत्रमा सुँगुरहरू बस्न आएको र फोहोर भएपछि शिव सफा र शान्त क्षेत्र खोज्दै रसुवास्थित गोसाईंकुण्ड गए । यस्तै, अर्को किंवदन्ती पनि छ ।

जुनबेला काठमाडौं एउटा ठूलो दह थियो, चीनबाट मञ्जुश्री आएर चोभारको डाँडा काटिदिए र सबै पानी बगेर बाहिर निस्कियो । तर, दुई नाग र नागिनीले आफ्नो बासस्थल बिगारेको बताउँदै विद्रोह गरे । अब म कसैलाई बाँकी नराख्ने भन्दै नाग–नागिनीले रौद्र रूप देखाएपछि मञ्जुश्रीले नागदह र टौदह बनाइदिए । नागिनी नागदहमा र नाग टौदहमा बस्न थालेको जनश्रुती छ । हरेक वर्ष पानी पर्ने सिजनमा नाग टौदहबाट नागदहमा नागिनीलाई लिई दुवै पनौतीको जात्रा हेरेर फर्किन्छन् भन्ने मान्यता छ ।

प्राकृतिक सौन्दर्य

वरिपरि हरिया डाँडा, अन्नबाली र वातावरणमा कञ्चन हावा यहाको विशेषता हो । छेउछाउमा ग्रामीण घरहरू र बीचको रमणीय पोखरीको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिन्छ ।

पर्यटकीय महत्व

वर्षा यामपछि वातावरण खुल्ने भएकाले यहाँ असोज महिनामा आन्तरिक एवम् बाह्य पर्यटकको आगमन बढ्छ । जलशयरका पारखीहरू डुङ्गामा बसेर पानीका छालसँग रमाइरहेका भेटिन्छन् । आगन्तुकको सुविधाका लागि छेउछाउमा चारवटा सुविधा सम्पन्न रेष्टुरेण्ट खोलिएका छन् । बोटिङ, फिसिङ र डेटिङ यहाँका मुख्य आकर्षण हुन् । पछिल्लो समय सभा–सेमिनार गर्नेहरूले पनि यसलाई रोज्ने गरेको व्यवसायी बताउँछन् ।

पर्यटकीय सम्भावना

यस स्थान आन्तरिक पर्यटनको लागि आकर्षक गन्तव्यको रुपमा विकाश भइरहेको छ । नागदहमा फिसिङ्गको सौख हुनेहरु बल्छी हानेर दिन कटाउछन् । छुट्टी मनाउन जानेहरु ढुंगा चढेर आनन्द लिन्छन् । यहाका क्याफेको बगैचाबाट नगदहको शित्तल हावा खाएर दिन कटाउन सकिन्छ ।

कसरी पुग्ने ?

ललितपुरको सातदोबाटोबाट ४ किलोमिटर दक्षिणमा रहेको नागदह पुग्ने पक्की बाटो भएकोले सजिलै पुग्न सकिन्छ ।

तस्वीर : प्रशान्त श्रेष्ठ

यो पनि पढ्नुहोस्  

काभ्रे जिल्लाको आकर्षक पर्यटकीय गन्तब्य बल्थली

काभ्रेपलाञ्चोकको सुन्दर पर्यटकीय गन्तव्य तिमाल

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य हेलम्बु

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी

शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल शैलुङ

रामेछापको ऐतिहासिक पर्यटकीय गन्तव्य दोरम्बा

सिन्धुलीको ऐतिहासिक पर्यटकीय गन्तव्य सिन्धुलीगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !