११ बैशाख २०८१, मंगलबार

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी


सिन्धुपाल्चोक पाँचपोखरी

पृष्ठभूमि : एक अचम्म लाग्दो ढिस्कोमा ५ वटा पोखरीले सजिएको यो पोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ ।

परिचय

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिकामा अवस्थित समुद्री सतहबाट करीव ४०६० मिटरमा उचाइमा अवस्थित पाँचपोखरी ताल हिन्दुहरुको तीर्थस्थलका रुपमा पनि परिचित रहेको छ । राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । पूर्णिमाको दिन र रातभरि पनि धामी–झाँक्रीको झाँकी हेर्न पाइन्छ । स्थानीय भेषभुषा र आफ्नै भाषामा उनीहरुले झाँक्री नाच प्रदर्शन गर्ने गर्छन् । पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दुध लिएर भक्तजनहरु चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजनहरु खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ । इन्द्रावती र ब्रह्मायणी नदीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम समेत छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।

पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ ।

पाँचपोखरीमा भगवान शिवको मन्दिर छ । त्यहाँको ढुंगामा बयान गरिएको किंवदन्ती निकै रोचक छ । झन्डै २३ सय वर्षअगाडि प्रख्यात सिकारी बुम्वा बाइवा सिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थान पुग्दा धान खेती गरिरहेको देखेछन् । यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्वालाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला अलप भएछन् । यो दृश्य देखेपछि बुम्वाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन् । त्यसयता हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म यहाँ मेला लाग्ने गर्छ । पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रुपमा लिइन्छ ।

हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म यहाँ मेला लाग्ने गर्छ । पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रुपमा लिइन्छ ।

प्राकृतिक सौन्दर्य

चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण र एकै ठाउँमा देखिने पाँच पोखरी अत्यन्तै सुन्दर छ । प्रकृति र धार्मिक आस्थाको यो सुन्दर संगम आकर्षक स्थान हो । पाँचपोखरी रहेको स्थलबाट करिव १ घण्टाको टाडो उकालो पश्चात त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । अनेक दृश्यानुभूतिले पाँचपोखरी पुग्ने यात्रुहरूलाई मुग्ध बनाउँछ ।

जैविक विविधता

जैविक विविधताले पनि यो क्षेत्र धनी छ  । सुनपाती, धुपी, बैरुङपाती, निगालो, थरीथरीका गुराँस, गोब्रे सल्ला लगायत दुर्लभ वनस्पति र जडीबुटी पाइन्छन् । यस वरपरको भू-भाग आलुखेतीका लागि पनि प्रख्यात छ ।

पर्यटकीय सम्भावना

पछिल्लो समयमा पाँचपोखरी यात्रामा जाने आन्तरिक पर्यटकहरु केही मात्रामा बढ्दै गएका छन् । यहाको प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा सांस्कृतिक पक्षले गर्दा यहाँ पर्यटकीय सम्भावना राम्रो छ।

कसरी पुग्ने ?

पहिलो दिन जोरपाटी-मेलम्ची-भोताङ यात्रा गर्नुपर्छ (बस र पदयात्रा), दोस्रो दिन पाँचपोखरी पदयात्रा मार्फत पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल शैलुङ

रामेछापको ऐतिहासिक पर्यटकीय गन्तव्य दोरम्बा

सिन्धुलीको ऐतिहासिक पर्यटकीय गन्तव्य सिन्धुलीगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !