४ बैशाख २०८१, मंगलबार

शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल शैलुङ


शैलुङ

पृष्ठभूमि : किवदन्ती अनुसार सङ्गेमारमति बुद्धले उक्त स्थानमा आएर ज्ञान लिएकोले त्यसलाई साङ्गेलुङ भनिन् लागेको र पछि साङ्गेलुङ अपभ्रमस भई शैलुङ भएको हो । अर्को किम्वदन्ति अनुसार स्थानिय तमाङ भाषामा थुम्कालाई लुङ भनिने र उक्त क्षेत्रमा सयवटा थुम्का रहेकोले सयलुङ हुदै शैलुङ भएको हो ।

परिचय

काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ करिब १४० किलोमिटरको दूरीमा रहेको सैलुङडाँडा हिमाली जिल्ला दोलखा र रामेछापको सङ्गमस्थलका साथै यी दुई जिल्लाबीच सिमानाको समेत काम गर्छ । दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित सामुद्रिक सतहबाट ३२२५ मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब १०० वटा स-साना थुम्काहरूबाट बनेको झट्ट हेर्दा धानको थुप्रो जस्तो देखिने यी थुम्काहरू पहाडी घाँसेमैदान हुन् । पर्यटक आकर्षणको लागि सैलुङदेखि जिरीसम्म पर्यटन पदमार्ग विकास गर्न सरकारले घोषणा गरेका १०० नयाँ गन्तव्यको सूचीमा राखेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

धार्मिक हिसावले पनि सैलुङ हिन्दु र वौद्ध धर्मालाम्वीहरुको संगमस्थल हो । हिन्दुहरु यस क्षेत्रलाई शिवको तपोभूमिको रुपमा लिन्छन् भने वौद्धधर्मालम्बिहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । १०० वटा थुम्का रहेको शैलुङको हरेक थुम्बाबाट देखिने गौरीशङ्कर हिमश्रङ्खलाले प्राकृतिक सुन्दरता थपिदिएको यो क्षेत्र धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा रहेको सैलुङ गुम्बा, सैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर एवम् थुनजस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक महत्वका विषय हुन् । शैलुङ क्षेत्रमा धर्म ढोका, १२ बर्षमा एक पटक गोदावरी फुल्ने ठाँउ, महादेव मन्दिर, हनुमान गुफा, डाफे ढुङ्गा, जरेश्वर महादेव, गाई ढुङ्गा, बाघ ढुङ्गा जस्ता धार्मिक एवं प्राकृतिक सुन्दरताका महत्वपूर्ण स्थान र स्तम्भहरु रहेकोले पनि यो क्षेत्र नयाँ नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।

धार्मिक दृष्टिकोणले पनि यो क्षेत्र हिन्दु एवम् बुद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीका लागि सैलुङडाँडामा बौद्ध चैत्य र हिन्दुका लागि सैलुङ महादेवस्थान रहेकाले यी दुवै धर्मका अनुयायीका लागि यो स्थान पवित्र मानिन्छ । यहाँ हरेक वर्ष बौद्ध पूर्णिमाको दिन लाग्ने जात्रा एवम् गुफा बस्ने प्रचलन परापूर्वकालदेखि चलिआएको छ । यसबेला हजारौँ भक्तजनहरू सैलुङडाँडामा भेला भएर लामा गुरुबाट बौद्ध चैत्यको दर्शन तथा पूजा–अर्चना एवम् आस्था प्रकट गर्ने गरिन्छ । यस्तै प्रत्येक बाह्र वर्षमा लाग्ने गोदावरी नुहाउने मेला एवम् सैलुङ महादेवको दर्शन गर्नाले पुण्य कमाइने यहाँका बासिन्दाको विश्वास छ । विशेषगरी बुद्धपूर्णिमा, बालाचर्तुदशी, तीज, नयाँ वर्ष लगायतका मुख्य चाडपर्वमा यहाँ मानिसको घुइँचो लाग्ने गरेको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

सत्य युगमा शैलुङ्को सयवटै थुम्कामा ऋषिमुनीले तपस्या गरेर बसेको किम्वदन्ति अहिले पनि स्थानीयले सुनाउने गर्छन् । कलियुग लागेपछि तपस्वी ऋषिहरु त्यहि थुम्काहरुमा समाहित भएको जनविश्वास रहदै आएको छ । सैलुङको डाँडोमा वुद्धले टेकको ढुङ्गामा वुद्धको पाइलाको छाप छ भन्ने विश्वासका साथ वौद्ध धर्मालम्बिहरु पूजा गर्न पुग्छन् । त्यस्तै डाँडामा आन्तिम संस्कार गर्दा मोक्ष प्राप्ति हुने पनि वौद्ध धर्मालम्बिहरुको विश्वास छ ।

प्राकृतिक सौन्दर्य

सैलुङडाँडाबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बुर, सगरमाथा लगायतका सुन्दर हिमालका दृश्यको साथै प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यो डाँडाको मुख्य विशेषता यहाँबाट चारै दिशामा करिब ३६० डिग्रीको कोणमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।

जैविक विविधता

जैविक विविधताले भरिपूर्ण यो क्षेत्र हिमाली जङ्गल र घाँसेमैदानले ढाकिएको र लालीगुराँस, ओखर, सल्लाको जङ्गल रहेको यस क्षेत्रमा करिब १५० प्रकारका जडीबुटीहरू पाइन्छन् । गुराँसका फूलहरूले जङ्गल मनोरम बनाइराख्दा वा रूखका हाँगामा फुलिरहेका सुनाखरी फूलका दृश्य निकै चित्ताकर्षक हुन्छन् । विभिन्न जङ्गली जनावर एवम् चराचुरुङ्गीको पनि बसोबास रहेको यो क्षेत्र जङ्गल भ्रमण, चराचुरुङ्गीको अवलोकन, अनुसन्धान एवम् ट्रेकिङ् क्षेत्रका रूपमा विकास गरेर सम्भावना प्रशस्तै छन् ।

पर्यटन प्रर्वद्धन

शैलुङ क्षेत्रको विकास, समृद्धि र विश्वव्यापी प्रचार–प्रसारका लागि बेला बेलामा महोत्सव हुने गरेको छ । महोत्सवमा स्थानीय झाँकी, विभिन्न जातजातिका भेषभूषा, मौलिक खानाका परिकार, जंगल सफारी, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति गरिन्छ ।

पर्यटकिय सम्भावना

यस अन्तर्गत मुडे लाम्चे आहाल, देउराली, ढुङ्गे कालापानी (सैलुङडाँडा), भँैसे बजार पवटी, चर्णावती, तामाकोसी जिरीसम्मको क्षेत्र समेट्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास र विस्तार गर्न सकिने सम्भावना प्रशस्तै छ । पर्यटकलाई लोभ्याउन यस क्षेत्रमा प्याराग्लाइडिङको पनि राम्रो सम्भावना देखिन्छ । विपी मार्गमा पर्ने सिन्धुली जिल्लाको रातमाटा वा रामेछापको सित्खाबाट खाँडादेवी हुँदै सैलुङसम्म केवुकार निर्माण हुने हो भने धार्मिक पर्यटनको साथै वैदेशिक पर्यटकहरुलाई समेत भित्र्याउन सकिने सम्भावना देखिन्छ ।

आकर्षणहरू

शैलुङको थुम्काहरुमा पुषदेखि फागुनसम्म हिमपात समेत हुने भएकोले पर्यटकलाई थप आकर्षण गर्न सक्ने स्थानिय बताउछन् । अहिले शैलुङ क्षेत्रमा विशाल बुद्धको मूर्ति निर्माण, भ्यु टावर निमार्ण लगायतका काम समेत भै रहेको छ । शैलुङ घुम्न जानेले कालापानी, खोलाखर्क, ढुङ्गे र बाघखोरमा रहेको होटलहरुमा बस्न सक्ने स्थानिय बताउछन् ।

यस क्षेत्रमा रहेको धर्म दुलो, बौद्ध चैत्य, कछुवा, बाघ र खरायोजस्ता देखिने ढुङ्गाका आकृति एवम् भर्खरै निर्माण भएको भ्युटावर मुख्य आकर्षणका केन्द्र हुन् । यो सैलुङ क्षेत्रलाई पर्यटकीय उत्कृष्ट ट्रेकिङ क्षेत्र बनाउनका लागि अर्को पर्यटकीय गन्तव्य जिरीसँग जोड्नु महत्वपूर्ण छ ।

कसरी पुग्ने ?

शैलुङमा पुग्न दोलखा र सिन्धुपाल्चोकको सिमाना मुडेबाट गाडीमा २० किलोमिटर गएर कालिपानी पुगेपछि आधाघण्टा पैदल जानुपर्छ भने दोलखा सदरमुकाम चरिकोटबाट महाङ्काल, मागापौवा, बाघखोर हुदै गाडिबाट ३२ किलोमीटर गएपछि कालापानी हुदै आधा घण्टा पैदल यात्रामा शैलुङ पुग्न सकिन्छ ।

फोटो स्रोत : कैलाश लामा

यो पनि पढ्नुहोस्  

रामेछापको ऐतिहासिक पर्यटकीय गन्तव्य दोरम्बा

सिन्धुलीको ऐतिहासिक पर्यटकीय गन्तव्य सिन्धुलीगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !