१० श्रावण २०८१, बिहिबार

रामेछापको ऐतिहासिक पर्यटकीय गन्तव्य दोरम्बा


दोरम्बा

पृष्ठभूमि : दोरम्बा भन्ने बितिकै हामी दोरम्बा हत्याकाण्डलाई सम्झिन्छौ । २०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो । हापुरेमा वार्ता चलिरहेकै बेला खबर फैलियो (रामेछापको दोरम्बामा शाही नेपाली सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या गर्यो) । जुन घटना दोरम्बा हत्याकाण्डको नामले परिचित छ ।

परिचय

रामेछाप जिल्लामा विद्यमान ६ स्थानीय तहहरु मध्ये दोरम्बा गाउँपालिका जिल्लाको उत्तरी पश्चिम भागमा अवस्थित रहेको छ । दोरम्बा गाउँपालिका रामेछाप जिल्लाको उत्तर पश्चिम भागमा रहेको छ । साविक दोरम्बा क्षेत्र अन्तर्गत रहेका डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर र गुन्सी गरी ६ वटा गाविस मिलाएर वि.सं. २०७३ सालमा दोरम्बा गाउँपालिकाको गठन गरिएको हो । यस गाउँपालिकाको पूर्वमा मन्थली नगरपालका र दोलखा जिल्ला, पश्चिममा काभ्रेपलान्चोक जिल्ला, सुनापती गाउँपालिका र खाँडादेवी गाउँपालिका र उत्तरमा दोलखा जिल्लासँग सिमाना जोडिएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपले यस प्रदेशमा फरक विषेशता बोकेको क्षेत्र हो । धार्मिक तथा भाषिक रुपमा करिव एकरुपता रहेको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । यस गाउँपालिकामा अग्लेश्वर, शैलुङ्ग, सानो शैलुङ्ग, कण्ठेश्वर मन्दिर, ब्रह्म्मा विष्णु जस्ता धार्मिक स्थल महत्वपूर्ण सांस्कृतिक सम्पदाहरु हुन् ।

धार्मिक रुपमा हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइले चाडपर्वहरुमा दशैं, तिहार, ल्होछार, भाद्र पुर्णिमा मेला, कुखुरे आहाल पुर्णिमा मेला, सानो शैलुङ्ग, पौष पुर्णिमा मेला, पुडिघ्याङ श्रावण पुर्णिमा मेला, ठूलो शैलुङ्ग एकादशी अग्लेश्वर मेला आदि रहेका छन् ।

दोरम्बा गाउँपालिका रामेछाप जिल्लाको सबैभन्दा बढी जनजाति समुदायको भएको बाहुल्यता भएको क्षेत्र हो । त्यसमा पनि तामाङ र मगरको जनसंख्या बढि छ । रामेछापको दोरम्बा गाउँपालिका-२ दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरिएको छ । मगर, तामाङ्ग, शेर्पा लगायतका आदिबासी जनजातीहरुको बाहुल बसोबास क्षेत्रको रुपमा रहेको यस गाउँपालिका हिन्दु सँस्कृतिको अनुपम संगम स्थलका रुपमा रहेको छ ।

आदिबासी जनजाती, क्षेत्री, ब्राम्हण, दलित जातीको मिश्रित बसोवास रहेको यस गाउँपालिकामा मुख्य कामकाजी तथा बोलिचालीको भाषा नेपाली रहेको पाइन्छ । भेषभुषाका रुपमा आदीबासी जनजाती समुदायको आफ्नै खालको पहिरन रहेको छ भने अन्य जातीमा पुरुषहरुले मुख्य रुपमा दौरा, सुरवाल, टोपी तथा कोट र महिलाले गुन्यु चोली, पटुकी र बुलाकी लगाउने गर्दछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

दोरम्बा शब्द पनि आदिवासी जनजाति तामाङ भाषा तथा संस्कृतिसँग सम्बन्धित छ । तामाङ भाषामा दो को अर्थ ‘दुई’ र रम्बा को अर्थ ‘माने’ भन्ने हुन्छ । माने तामाङ संस्कृति अनुसार पुजा गर्ने पवित्र ठाउँ हो । यसरी तामाङहरुको दुई वटा माने भन्ने अर्थमा दोरम्बा हुन भएको र पछि यो ठाउँको नाम नै दोरम्बा कायम हुन गएको हो भन्ने जनविश्वास छ । यही दुई वटा पुजा गर्ने पवित्र ठाउँ अर्थात दोरम्बा ठाउँको नामबाट नै यस गाउँपालिकाको नामाकरणका गरिएको देखिन्छ ।

पर्यटकिय महत्व

अहिले दोरम्बा ऐतिहासिक दोरम्बाको घिसिङ दरबार, लोपउत्मुख थामी जातीको संस्कार, सस्कृती, कलाले पर्यटनलाई मन्त्रमुग्ध बनाउने गाँउपालिकाको अपेक्षा छ । दोरम्बाका विभिन्नि वडाहरु आदीबासी जनजाति पदमार्गले जोडिएको थियो । अहिले दोरम्बामा होमस्टेहरुले स्थानीय परिकार, सस्कृती र कलालाई प्रबद्र्धन गरिरहेको छ ।

पर्यटकीय सम्भावना

दोरम्बा गाउँपालिका रामेछाप जिल्लाको पहिलो खुल्ला दिशामुक्त गाउँपालिका पनि हो । अहिले मदिरा निषेधित गाँउपालिका बन्ने तरखरमा छ । अब पहिलो बालमैत्री गाउँपालिका बन्ने उसको तयारी छ । यसको लागि हरेक वडामा बाल क्लव सञ्जाल बन्दैछन् ।यसले पर्यटकीय सम्भावना बढाएको छ ।दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरेसंगै दोरम्बा गाँउपालिकाले दोरम्बाको विकास र सम्बृद्धिको ढोका खुलेको छ ।

जैविक विविधता

गाउँपालिकालाई मुलप्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टे खोला र धोवी खोला यहाँको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । सिंचाइको मुख्य श्रोतको रुपमा रहेका यी खोलाबाट यस क्षेत्रको तल्लो वेसी क्षेत्रको जमिनमा सिंचाइ सेवा उपलब्ध रहेको छ । जैविक विविधताका हिसावले पर्वतीय चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरुमा पाखनवेद, कटुकी, सतुवा, विषजडा, चौरी, भेँडा, गोरू, भैँसि, बाख्रा, रागाँ, डाँफे, कालिज, मृग, भालु, चितुवा, खरायो, भंगेरा, बाघ, काग, मयुर मुख्य रुपमा रहेका छन् । यसका अलावा पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन तथा खर्कहरु रहेका छन् भने चुन ढुङ्गा र तामा खानी लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ ।

यो पनि पढ्नुहोस्  

रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथर

बाराको ऐतिहासिक पर्यटकीय गन्तव्य सिम्रौनगढ

महोत्तरीको प्रसिद्ध धार्मिक तीर्थस्थल जलेश्वर महादेव

सिन्धुलीको ऐतिहासिक पर्यटकीय गन्तव्य सिन्धुलीगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !