७ बैशाख २०८१, शुक्रबार

यस्तो बन्दैछ पर्यटकीय गन्तव्य गुरु फाल्गुनन्द सर्किट


Falgunanda

पृष्ठभूमि : किरात धर्मावलम्बीहरुको महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने २००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए । राष्ट्रिय विभूति फाल्गुनन्दले दश थुमका लिम्बु र १७ थुमका किरातीहरुलाई आजभन्दा ८८ वर्ष अघि पाँचथरको लब्रेकुटीमा वृहत चुम्लुङ (भेला) गराई तत्कालीन समाजमा भएका विकृति, विसङ्गति र कुसंस्कारहरुलाई हटाउन सत्यधर्म मुचुल्कामा सहीछाप गराएको घटना चर्चित रहेको छ ।

किरात समुदायमा मासांहार, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनु भएको सन्देशका कारण उनलाई महान समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ भने हुलाक टिकट प्रकाशित गरेको थियो ।

परिचय

पाँचथरको नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा गुरु फाल्गुनन्द सर्किट (लोब्रे कुटी–गजुरमुखी धाम–लारुम्बा–चुक्कीनाम्बा) लाई समेटेको छ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले जन्म लिएको, ज्ञान प्राप्त गरेको र समाधि लिएको ऐतिहासिक स्थानहरुलाई धार्मिक मार्गमा समेटेर ‘गुरु फाल्गुनन्द सर्किट’ लाई १०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । झापा, इलाम र पाँचथर जिल्लाका स्थानीय तहहरु मिलेर ‘गुरु फाल्गुनन्द सर्किट’को निर्माण र प्रचार-प्रसार गरेमा विश्वभरिका किरातहरुको धार्मिक केन्द्र बन्ने र यसबाट नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिने सम्भावना रहेको छ ।

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले जन्म लिएको, ज्ञान प्राप्त गरेको र समाधि लिएको ऐतिहासिक स्थानहरुलाई धार्मिक मार्गमा समेटेर ‘गुरु फाल्गुनन्द सर्किट’ लाई १०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ

गुरु फाल्गुनन्द सर्किटले ओगट्ने क्षेत्र

‘गुरु फाल्गुनन्द सर्किट’को अवधारणामा झापाको अर्जुनधारा नगरपालिका, इलामको माई नगरपालिका, इलामकै माङ्सेबुङ गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई समेट्छ । ‘गुरु फाल्गुनन्द सर्किट’को प्रवेश विन्दु झापाको अर्जुनधारा नगरपालिकालाई बनाउन सकिने र इलामको माई नगरपालिकाको दानावारी, माङ्सेबुङ गाउँपालिकाको लारुम्बा, रवि, राँके हुँदै पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित लेब्रेकुटी र सिलौटीलाई महत्वपूर्ण धार्मिक करिडरको रुपमा विकसित गर्न सकिन्छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा पहिल्यैदेखि चिनिएको झापाको अर्जुनधारामा फाल्गुनन्दको पूर्णकदको शालिक, फाल्गुनन्द शान्ति वाटिका, किरात माङहिम लगायतका धार्मिक महत्वका स्थलहरु निर्माण भई सकेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

‘फाल्गुनन्द सर्किट’को सबैभन्दा महत्वपूर्ण स्थान इलामको माङ्सेबुङ–५ स्थित लारुम्बा धार्मिकस्थल हो । जहाँ किरात धर्मका गुरु आत्मानन्द लिङ्देनको आश्रम रहेको छ । विश्वभरीका किरातहरुको धार्मिक केन्द्रको रुपमा विकास भइरहेको लारुम्बामा गुरु आश्रमसहित विश्व किरात मुन्धुम पाठशाला, सेवा सावा (पुजारी) प्रशिक्षण केन्द्र, किरात लिपी पाठशाला आदि रहेको छ ।

भूटानी शरणार्थीहरुले आश्रय लिएको अर्जुनधारा–३ कैदलेस्थित शिविरस्थलमा फाल्गुनन्द शान्ति बाटिका, फाल्गुनन्द मिङसो माङहिम र फाल्गुनन्द पोखरी निर्माण भइसकेको छ । ‘झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ को सीमामा पर्ने खुदुनावारी बजारको चोकमा साढे सात फिट अग्लो र करीव ६ सय किलोग्राम तौलको फाल्गुनन्दको शालिक स्थापना गरिएको छ ।

पर्यटकिय सम्भावना

अर्जुनधारादेखि नै शालिक, मठमन्दिर र स्मारकहरु बनाउँदै लगियो भने लारुम्बा, सिलौटी र लेबे्रकुटी जाने धार्मिक पर्यटकहरुले तीर्थयात्राको सार्थक अनुभूति हुनेछ । अर्जुनधाराबाट ३५ किलोमिटर उत्तरमा लारुम्बा धार्मिक स्थल छ भने त्यहाँबाट रवि हुँदै पाँचथरको लेबे्रकुटी र सिलौटी पुग्न करीव ६० किलोमिटर सडक मार्ग छिचोल्नु पर्दछ । झापाको दमक हुँदै इलामको रवि चिसापानी र पाँचथरको लेब्रेकुटी–सिलौटी जोड्ने सडकको नाम फाल्गुनन्द मार्ग प्रस्ताव गरिएको छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचथरको आकर्षक पर्यटकीय केन्द्र जोरपोखरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !