१४ बैशाख २०८१, शुक्रबार

स्वर्गकी भर्जिन अप्सरा : रारा ताल


रारा ताल

पृष्ठभूमि : बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । २०२० साल चैत २० गते तत्कालिन राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरता अतिक्रमण हुने देखेर नजिकका २ गाउँका १५०० घरधुरीलाई तराइतिर बसाईं सारेका थिए । रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेर नामकरण गरेका थिए ।

परिचय

नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारा क्षेत्र मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्दछ । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस तालको लम्बाइ ५ किलोमिटर र चौडाइ करीब ३ किलोमिटर र गहिराइ १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । ‘रारा’ शब्दको अर्थ हुन्छ ‘आकाशको तारा, स्वर्गकी अप्सरा, धर्तीको चाँही रारा’ ।

पर्यटकीय महत्व

रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त बर्णन गर्ने शब्दकै अभाव पर्छ । राराबाट पश्चिमतर्फ तीन घण्टा हिंडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य र सैपाल हिमालको अवलोकन गर्न पाइन्छ ।

प्राकृतिक सौन्दर्य

यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने ’असला’ जातको माछा पाइन्छ । संसारमा नीलो पानी रारा तालमा छ ।

जैविक विविधता

भनिन्छ, यहाँ पुगेपछि ढुङ्गाको मन भएकालाई पनि कविता फुर्छ । नेपालमा रहेका ८६७ प्रजातिका चराहरूमध्ये रारामा २३६ प्रजातिका पाईन्छन् । आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ । जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अप्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाई दिएका हुन्छन् ।

पर्यटकिय सम्भावना

यो ताल मुगुको मात्र नभई समग्र देशको गौरव बोकेको पर्यटकीय स्थल हो । यसको संरक्षण तथा प्रचार गरी अन्तर्र्रािष्ट्रय तहमा प्रचार गर्न सकिए प्रशस्त पर्यटक भित्रिने र त्यसले यस क्षेत्रमा आर्थिक गतिविधि बढाउने निश्चित छ ।

कसरी पुग्ने ?

मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । यस क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रहेको रारा पुग्न काठमाडौँबाट जिप, बस तथा मोटरसाइकलमा तीन दिन लाग्छ । रारा पुग्न हवाईमार्गको पनि सुविधा छ । नेपालगञ्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करिब २ घण्टा हिँडेर रारा पुग्न सकिन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

तस्वीर स्रोत :  एम्बिसन हिमालय ट्रेक एण्ड एक्सपिडीशन प्रा. लि. 

यो पनि पढ्नुहोस् 

कनकमुनि बुद्धको जन्मभूमि निग्लीहवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु