७ बैशाख २०८१, शुक्रबार

मनमोहक पर्यटकीय गन्तव्य पञ्चासे


पर्यटकीय गन्तव्य पञ्चासे

मनमोहक पर्यटकीय गन्तव्य पञ्चासे

पृष्ठभूमि

परापुर्वकालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमारका माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनीहरु एउटा छोरा श्रवणकुमारको साहरामा नै बाँचिरहेका थिए । श्रवणकुमारले नै उनीहरुलाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रममा एकदिन उनीहरु एउटा ओडारमा वास बस्न पुगे छन् । हाल त्यो ठाउँ आन्धा-अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरुमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ । त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा-अन्धी बुवा आमाको पानीको प्यास मेटाउन पानीको खोजीमा एउटा डाडाँमा पुग्छन । जहाँ पानीको तलाउ भेट्छ्न जुन ठाउँलाई अहिले पञ्चासे भनेर चिनिन्छ ।

परिचय

संघीय सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट २०७५ साल भदौमा सार्वजनिक गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्ने गरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा कास्कीको पञ्चासेलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।

पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडा सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य हो । जैविक विविधताले भरिपूर्ण पञ्चासे क्षेत्रले तीन जिल्ला ओगटेको छ । ५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्रको जैविक विविधता साँच्चै हेनलायक छ । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै तत्व छन् । समुद्र सतहदेखि २ हजार ५ सय ९ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ १ सय १० मिटर र चौडाइ २० देखि २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जंगलले घेरिएको छ । पञ्चकोसी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो । पोखराको फेवातालको मुख्य स्रोत पनि पञ्चासे हो । सुर्योदय, सूर्यास्त लगायतको दृश्यावलोकन, वनजंगल, जडीबुटी, सुनाखरी, संस्कृति लगायतले सबैलाई आकर्षित गराउँछ । टुप्पोमा रहेको तालले पनि झनै लोभ्याउँछ ।

तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने जंगलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने विश्वास गर्ने गरिएको छ । पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमशृंखला, दक्षिणतर्फपाल्पाको श्रीनगर डाँडा र तर्राईका फाँट देखिन्छन् । पञ्चासेको भ्यू टावरबाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवाताल मात्रै होइन, दक्षिण पश्चिमतर्फनजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधिखोला लगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटकहरु उद्वेलित हुन्छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पञ्चासे धर्मिक र ऐतिहासिक महत्व बोकेको ठाउँ हा े। जुन पर्यटकीय गन्तव्यको रुपमा विकसित भई सकेको स्थिती छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

आदिमकालदेखि धार्मिक दृष्टिकोणले पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डवहरु गुप्तवासमा रहँदा बसोबास गरेका, बाईसे–चौबीसे राजाका किल्ला, सिद्धबाबा लगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । अर्कोतिर विभिन्न पुराणहरूमा उल्लेख भएअनुसार सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउँ भनी तपस्या गरेको पाङस्थित पार्वती गुफा, फूल टिप्ने गरेको कुशुमपुरी (अहिलेको कुश्मा बजार), पार्वती खेल्ने गरेको पातीचौर क्षेत्र, दिनहुँ नित्य नुहाउने गरेको सहस्रधारा, पनि यहीँ छन् । पर्वत जिल्लाको चित्रे गाउँबाट पञ्चासे लेकका लागि उकालो लाग्ने क्रममा बीचमा रहेको गनगने बाबाको स्थानमा रूख विरूवाबाट झरेका र सुकेका पातपतिङ्गरहरू चढाएपछि गनगने बाबाको गनगन शान्त हुने किम्बदन्ती अनुसार पैदल यात्रीहरूले गनगने बाबाको स्थानमा भुँईमा झरेका पातपतिङ्गरहरू चढाउने गर्दछन् । पर्यटकहरूका लागि यो पनि आकर्षण हुने रहेछ ।

प्राकृतिक सौन्दर्य

पञ्चासेबाट अन्नपुर्ण, धौलागिरी श्रृङ्खला तथा लमजुङ र मनास्लु हिमालहरुको अवलोकन गर्न सकिन्छ । सुर्योदय, सुर्यास्त, आसपासका सुन्दर गाउँबेसी, फाँट खोलानालाको दृश्यले सबैको मन लोभ्याउछ । यो साढे पाँच हजार हेक्टर क्षेत्रफलमा फैलिएको पाँच टाकुरा मिलेर बनेको छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा रहेको पञ्चासे डाँडा पुग्नेहरु उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मनमुग्ध हुन पुग्छन् ।

पञ्चासे लेकमै रहेको बैदान ताल नियालेपछि थप रोमान्चित अनुभव गर्छन पर्यटकहरु । त्यससँगै सूर्याेदय र सुर्यास्तको रमणीय दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । दृश्यावलोकनको लागि तीन जिल्ला पर्वत, कास्की र स्याङ्गजाको सहयोगमा भ्यू टावर निमार्ण गरिएको छ ।

पर्यटकीय महत्व

एकै ठाउँबाट चार जिल्लाका सदरमुकाम (पोखरा, स्याङ्जा, कुश्मा र बागलुङ), आसपासका डाँडाकाडा, हिमाली श्रृङ्खलाको दृश्यावलोकन र जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न यहाँ पाइन्छ । त्यसैले त पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको गतिलो गन्तव्य बनेको छ । नेपालको सबैभन्दा ठूलो र लामो पञ्चासे केबलकार निर्माण प्रारम्भ हुने भएको छ ।

अनुपम प्रकृतिको सुन्दर दृश्यावलोकन पञ्चासे लेकको प्रमुख आकर्षण हो । साथसाथै पहाडी चुचुरोको घना जङ्गलको बीच भागमा रहेको कञ्चन र निर्मल पिपलपात आकारको ताल पञ्चासे लेकको अर्को आकर्षण हो । पर्वत, कास्की र स्याङ्जा जिल्लाका सदरमुकामबाट बिहान हिँडेर पञ्चासेको एक दिवसीय भ्रमण पूरा गरेर साँझ सम्बन्धित सदरमुकाममै फर्किनसक्नु आन्तरिक पर्यटकका लागि झनै महत्वपूर्ण आकर्षण भएको छ ।

नागवेली आकारको चुचुरोका चारस्थानमा रहेका गुरूङ (तमु) हिल टावर, विश्व शान्ति स्तुपा र बौद्ध गुम्बा, च्यवन ऋषिको आश्रम रहेको स्थान, पञ्चासे क्षेत्र विकास समितिको सचिवालय, लामो हिमश्रृङ्लाहरूको लस्कर दृश्यावलोकन गर्न सकिने गरी निर्माण गरिएको पञ्चासे टावर र सिद्ध बाबाको स्थान पञ्चासे लेकका थप आकर्षणहरू हुन् ।

जैविक विविधता

पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न ५ हजार ५ सय हेक्टर वन क्षेत्रमध्ये १ हजार ७ सय हेक्टर बन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा ५ सय ८९ किसिमका फूल, १ सय ५० औषधीजन्य जडिबुटी, ५६ प्रजातिका जङगली स्याउ, ९८ उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जंगलमा बिभिन्न प्रजाति चराचुरुङगी र दुलभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्क छन् ।

कसरी पुग्ने ?

कास्की, पर्वत र स्याङ्जाको पर्यटकीय तथा धार्मिक संगमस्थल पञ्चासेको भन्ज्याङसम्म पुग्न पोखराबाट ३० किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । साथै, पोखरा–वागलुङ राजमार्गको काँडेबाट भदौरेसम्म गाडीमा र त्यहाँबाट पैदल ३ घन्टा हिड्नु पर्छ । पोखराकै ड्यामसाईड, शान्ति स्तुपा हदै ८ घन्टा पैदल तथा पर्वतको आर्थर र चित्रेबाट २र२ घन्टा हिडेर पुग्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराबाट लुम्ले, काँढे–भदौरे देउरालीसम्म गाडीमा गएर त्यहाँबाट ३/४ घण्टाको पैदलमा पन्चासे पुगिन्छ अथवा पोखरा-लिवाडे नागडाँडा-ढिकुरपोखरी रयाले पाउँदुर हुदै भदौरे देउरालीसम्म अनि ३/४ घण्टाको पैदलमा यहाँ पुगिन्छ । लेकसाइड, फेवाताल, पामे, घाँटी छिनासम्म गाडीमा गएर सिदाने हुँदै पनि पन्चासे पुगिन्छ । हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङजाको फेदीखोला, आर्रुखर्कुँदै पञ्चासे भञ्ञ्याङसम्मै जीप पुग्छ । अहिले पञ्चासे पुग्न मोटरको सुविधा भएपनि पदयात्रा गर्दाको आनन्द अर्कै छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

इन्द्रसरोवरको प्राकृतिक सुन्दरतामा भुल्दा

धनुषाको दोस्रो ठूलो धार्मिकस्थल धनुषाधाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !