पृष्ठभूमि : बडिकेदार धार्मिक पर्यटकीय क्षेत्रको नामवाट बडिकेदार गाउँपालिकाको नाम रखिएको हो । डोटी जिल्लाको दक्षिणी बोगटान क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ ।
परिचय
डोटी जिल्लाको बोगटान तथा बडिकेदार गाउँपालिकाको संगम स्थलका रुपमा रहेको प्रसिद्ध शक्ति पिठ बडिकेदार अर्थात ठुला केदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थल हो । समुद्री सतहदेखि १ हजार ८ सय मिटर उचाइमा रहेको बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेलामा थारु समुदायको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।
धार्मिक तथा सांस्कृतिक महत्व
सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर प्रसिद्ध बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ ।
मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बीचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडीकेदार बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्राय:जसो सन्तान प्राप्त नभएका अधिकाँश महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन ।
यो पनि पढ्नुहोस् : डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर
पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरु आउन थालेका छन । यसले अपासी सद्भाव पनि बढाएको छ । छिमेकी मुलुक भारतका मान्छे सहित नेपाली दाजु भाई संग पनि भेट घाट हुने भएकाले यो मेला आपसी माया ममता साट्ने केन्द्र भएको छ ।
मनोकामना पूरा हुने भन्दै तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका सहर (लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाही) बाट बर्षेनी कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु आउने गर्दछन । खोँचमा रहेको बडिकेदार शिलाको दर्शन गर्न पाउनु नै तीर्थालुको मुख्य ध्येय रहने गर्दछ ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
किवदन्ती अनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् ।
यो पनि पढ्नुहोस् : धर्तीमा स्वर्गको टुक्रा अछामको रामारोशन
सन्तान प्राप्त नभएका तमामौँ दम्पती समेत पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्छन् । सन्तान नभएकालाई सन्तान लाभका साथै मनोकांक्षा पूरा हुने भएकाले स्वदेश तथा विदेशबाट समेत दर्शनार्थी आउने गर्छन् । भक्तजनहरुले जे सोचेर बडिकेदारको पूजाआजा गर्यो त्यो पूरा अर्थात मनोकांक्षा पुरा हुने धार्मिक बिश्वास रहि आएको स्थानीय बुढापाकाहरु बताउछन् ।
पर्यटकीय महत्व
डिकेदार बोगटान क्षेत्रको मात्रै नभई तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका नागरिकको आस्थाको केन्द्र मानिएको डोटी क्षेत्र विशुद्ध धार्मिक पर्यटकीय स्थल हो, यहाँ कात्तिक बैकुण्ठ त्रयोदशीमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । भारत, तराई र पहाडी समुदायलाई जोड्ने ठूलो धार्मिक स्थल बडिकेदार भएकाले पर्यटकिय महत्व झल्किन्छ ।
यो पनि पढ्नुहोस् : सुर्मादेवीको क्रिडास्थल बझाङको ताल सुर्मा सरोवर
प्राकृतिक सौन्दर्य
यहाँबाट अपी र शैपाल हिमाल देखिन सकिन्छ । सामुन्नेमै मिलेजस्तो लाग्ने कर्णाली र सेती नदीको दोभान र नाङ्गो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि अनि भारतको उत्तर प्रदेशको भूभाग निकै रमणीय लाग्छ । चिसो बतास चल्ने अग्लो डाँडो (गाई बाच्छे) । राइसल्ला र खर्सुका जंगल ,भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर देवथानले प्राकृतिक सौन्दर्य बढाएको छ ।
पर्यटन प्रर्वद्धन
विस्तारै बडिकेदारको दैवीय शक्तिको प्रचार–प्रसार हुँदा पछिल्लो तीस वर्ष यता कैलाली, कञ्चनपुरका थारू समुदाय र भारतको उत्तर प्रदेशका दर्शनार्थी आउन थालेका छन् ।
यो पनि पढ्नुहोस् : मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे
पर्यटकीय सम्भावना
अति अग्लो लेकमा अवस्थित बडिकेदारलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा जोड्न सके यसबाट पर्यटनका साथै यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ ।
कसरी पुग्ने ?
धनगढी–अत्तरिया–सहजपुर–बीपीनगर हुँदै डोटीको अत्तरकाँडासम्म १०४ किलोमिटर बसको यात्रा गर्नुपर्छ । धनगढी बसपार्क र अत्तरियादेखि दैनिक ४ वटा बस जान्छन् । मेलाका बेला भने रिजर्व र क्युफ्री गाडी अत्याधिक मात्रामा पाइन्छन् । अत्तरकाँडाबाट ३ घण्टाको पैदल यात्रापछि बडिकेदार पुग्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका