२३ बैशाख २०८१, आइतबार

द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको दाङको बगरबाबा धार्मिक पर्यटकीय स्थल


बगरबाबा रिहार दाङ

पृष्ठभूमि : बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार नामले पनि चर्चित छ । स्थानीय बुढापाका अनुसार आज भन्दा झण्डै पाँच हजार वर्ष पहिले रिहार धामको उत्पति भएको हो, धार्मिक विश्वास अनुुसार द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको हुुँदा ऋषीविहारबाट अपभ्रम्स भई रिहार रहन गएको बताइन्छ । बगरबाबा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको रिहार क्षेत्र निकै पुरानो धामको रुपमा परिचित छ ।

परिचय

नेपाल सरकारले दाङ देउखुरीमा अवस्थित बगरबाबा धार्मिक पर्यटकीय स्थललाई १०० नयाँ तथा विकास गरिनुपर्ने पर्यटकिय गन्तब्यको सूचीमा राखेको छ । दाङ जिल्लाको लमही नगरपालिकास्थित देउखुरीमा रहेको बगरबाबा मन्दिरमा एक वर्षमा ५, ६ हजार भेँडा र कुखुरा बलि दिने गरिएको भने त्यतिकै सङ्ख्यामा परेवा समेत उडाउने गरिन्छ ।

देउखुरीको धार्मिकस्थल बगरबाबामा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यसलाई थारु समुदायको परम्परागत देवथानको रुपमा समेत हेरिन्छ । नजिकै खोला रहेको धार्मिक स्थल सिमसार क्षेत्रमा छ । त्यहाको भुइँभरि नुनिलो पदार्थ सेतै भएर जमेको देखिन्छ । यहाँको अर्को आकर्षण हो, तप्तकुण्ड । बगार बाबाको मन्दिर अगाडि करिब ७० किलो ग्रामको शीला छ । त्यसलाई भौरी भनिन्छ । भौरी भनेको पिठोको डल्ले रोटी हो ।

यहाँको अर्को महत्त्वपूर्ण र अचम्म लाग्ने गरी बाटोको ढिस्कोमा घ्युको बास्ना आउँछ । नौलाख गाईको घ्यु राख्ने भाँडो फुटेर पोखिएको विश्वास गर्दै मेला भर्न आउनेहरूले त्यो ढिस्कोको माटो लैजाने र खाने समेत गरेको स्थानीयवासी बताउँछन् । अहिले रिहारमा बगारबाबा लगाएत भैने परशु, मामी सौँरी, गणेश र कालिका मन्दिरको साथै तप्तकुण्ड र झाँक्रीथान पनि छ । भैने परशुरामको एउटा मन्दिर छ ।

इतिहास

बगार बाबा धार्मिक स्थल उत्पत्तिको सन्दर्भ भने द्वापरयुगसँग जोडिएको पाइन्छ । पाँच हजार वर्ष पहिले देखि विकासको सुरुवात भएको मानिने ‘रिहार’ को नामाकरण ऋषिहरूले विहार गर्ने क्षेत्रको नामबाट रिहार रहन गएको भनाइ छ । अवधीभाषी यादव समुदायको आस्थाको केन्द्र मानिने त्यो क्षेत्रको वरपर पाइने नुनिलो पदार्थलाई ‘रेरा’ भनिन्छ । त्यहि रेरा शब्दबाट रिहार रहेको मान्यता छ । यो क्षेत्रको पानी नै नुनिलो छ । जाडो दिन भन्दा गर्मी दिनमा धेरै नुनिलो हुने भएकाले पहिले–पहिले दाङबाट समेत गाईवस्तुलाई नुनिलो पानी खुवाउन लैजाने प्रचलन थियो ।

धार्मिक तथा सांस्कृतिक महत्व

मन्दिरमा चिच्चायर भाकल गर्ने चलन छ । यहाँ मन्दिर आउने अधिकांश सन्तान प्राप्तिको भाकल गर्छन् । मन्दिरमा एक वर्षमा ५र६ हजार भेँडा र कुखुरा बलि दिने गरिएको भने त्यतिकै सङ्ख्यामा परेवा समेत उडाउने गरिन्छ । रिहारमा बगरबाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ । त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । रिहारमा माघीमा एक हप्ता दर्शनार्थीको घुइँचो हुन्छ । विशेष गरी पुस मसान्तको रातभर र माघे संक्रान्तिको दिनभर ठूलो मेला लाग्ने रिहारमा दाङका सम्पूर्णक्षेत्रको साथै छिमेकी जिल्ला र भारतबाट भक्तजन आउँछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

यो मन्दिरमा चिच्याएर भाकल गर्ने विश्वास छ र त्योअनुसार नै भाकल गर्ने चलन छ । रिहारमा बगर बाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने र चमर रोग निको हुने धार्मिक विश्वास छ ।

पौराणिक नाम बाँगड बेलहरीबाट बगार बन्न पुगेको भनिन्छ । सत्ययुगमा भगवान शिवले बद्रिनारायणबाट पठाएको तप्तकुण्डको पानी सँधै तातो हुन्छ। तप्तकुण्डमा स्नान गरे छालाको रोगबाट मुक्ति पाइने विश्वास अझै भक्तजनमा छ । त्यो कुण्डमा ५० वर्षअघि दाल, चामल र नुन राखी एउटा टालोमा बाँधेर राखिदिए खिचडी पाक्थ्यो भन्ने विश्वास गरिन्छ । भगवान् कृष्णको परिवारले खाँदै गरेको एउटा रोटीमा झिङ्गा बसेपछि अब कलियुग सुरुवातको संकेत मानी कृष्ण मथुरा गएको र त्यो रोटी ढुंगा बनेको कथन छ ।

यहाँ गाई चराउने मामा-भाञ्जी राति सुतेकै समयमा लोप भएको विश्वास गरिन्छ । मन्दिरभित्र मामा भाञ्जी सुतेको मूर्ति निर्माण गरिएको छ भने त्यहि मन्दिरको छेउमा मामी सौँरी अर्थात माइजुको मन्दिर बनाइएको छ ।

पर्यटकिय महत्व

आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत भक्तजन दर्शन र मनोकांक्षा पूरा गर्न रिहारमा धार्मिक तिर्थाटन गर्ने गरेका छन् भने धेरै भारतीय पर्यटकका लागि प्रमुख धार्मिक रोजाइको पीठ बनेको छ ।

पर्यटन प्रर्वद्धन

रिहार धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिए पनि यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्धन गर्नुपर्ने देखिएको छ । पूर्वपश्चिम राजमार्गले छोएकाले यातायातको हिसाबले सुगम मानिएको पनि रिहार क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि स्थानीय सरकार लगायतले ध्यान दिन आवश्यक छ ।

पर्यटकीय सम्भावना

सरकारले पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको प्रवद्र्धन गर्न १०० वटा नयाँ गन्तव्य घोषणा गरेकोमा यस स्थान पनि परेको छ ।

प्राकृतिक सौन्दर्य

प्राकृतिक हिसाबले निकै मनमोहक रिहार धाम २५ विघा क्षेत्रफलमा फैलिएको छ । वरपर जंगल भएकाले पनि मनोरम हावापानी र सुन्दर दृश्यहरूमा पर्यटकको मन सहजै लोभिन्छ ।

जैविक विविधता

घना जंगलमा पाइने जैविक विविधता, गोही संरक्षण, सिमसार क्षेत्रमा लागि तलाउ निर्माण, धार्मिक ऐतिहासिकताले रिहार देशकै महत्त्वपूर्ण धार्मिक क्षेत्र हो । दक्षिणतर्फ शान्त भएर बग्ने राप्तीले रिहारलाई अझ मनमोहक बनाएको छ । डुंगामा सयर गर्न चाहनेदेखि राप्तीपारिको राजपुरका डुंगा चढ्न बाध्य स्थानीयको चहलपहल सधैँजसो हुन्छ ।

समस्याहरु

सरकारको १०० नयाँ गन्तव्य सूचीमा परेको रिहारलाई राखेपनि भौतिक पूर्वाधारको भने विकास हुन् नसकेको देखिन्छ । वार्षिक २ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य रिहार धाम भएपनि पर्याप्त लगानी नहुँदा रिहारको पर्यटन विकासमा उल्लेख्य प्रगति हुन नसकेको जानकारहरु बताँउछन् ।

कसरी पुग्ने ?

बगारबाबा धार्मिक क्षेत्र दाङको लमहीदेखि करिब २० किलोमिटर पश्चिममा पर्दछ ।

यो पनि पढ्नुहोस्

हिन्दू, शिख र मुस्लिमको आस्थाको धरोहर बाँकेको कम्मर शाह बाबा मजार धार्मिक पर्यटकीय क्षेत्र

रोल्पाको सुन्दर धार्मिक पर्यटकीय गन्तव्य जलजला

पर्यटक लोभ्याउँने प्युठान झिमरुकमा अवस्थित रक गार्डेन

संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !