१३ बैशाख २०८१, बिहिबार

सत्ययुगमा सतीदेवीको गलापतन भएको म्याग्दीको धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर


म्याग्दीको धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर

पृष्ठभूमि : सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन किम्बदन्ती रहेको पाइन्छ । यस मन्दिरको नजिकै कहिल्यै नसुक्ने जलबराह कुण्ड समेत रहेको छ ।

परिचय

म्याग्दीको गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका-९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत परिचित छ ।

इतिहास

गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ । १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको बताइन्छ । त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिक स्थल भएको इतिहासकारले बताएका छन् ।

१९ औँ शताब्दीको अन्त्यताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ । यो क्रम बेनी जोमसोम सडक विस्तार नहोञ्जेलसम्म जारी रहेको थियो ।

पर्यटकीय महत्व

म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धामको धार्मिक, आर्थिक र पर्यटकीय महत्व बढ्दै जान थालेपछि देश र विदेशका व्यक्तिका लागि समेत यो तीर्थस्थल आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुन थालेको छ । यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीयको माग रहेको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

पर्यटकिय सम्भावना

पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाको रहेको छ ।

आकर्षणहरू

लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन् ।

कसरी पुग्ने ?

म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धाम रहेको छ ।

यो पनि पढ्नुहोस्
धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर
पर्वतमा अवस्थित विश्वकै ठूलो दाबी गरिएको बिशाल ढुंगा महाशिला
मुस्ताङको ऐतिहासिक पर्यटकीय गन्तव्य लोमान्थाङ दरबार र गुफा क्षेत्र
मनै लोभ्याउने मनाङको पर्यटकीय गन्तव्य थोरङला पास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !