६ बैशाख २०८१, बिहिबार

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर


बागलुङ कालिका भगवती मन्दिर

पृष्ठभूमि : धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने विश्वास रहिआएको छ ।

परिचय

बागलुङ कालिका मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा मन्दिर अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन ।

यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिने गरिएको बताईन्छ । कालिका भगवती मन्दिरको पूजा सञ्चालन, संरक्षण, रेखदेखका साथै अन्य आवश्यक व्यवस्था गर्न ‘कालिका भगवती गुठी सञ्चालक समिति’ रहेको छ । पूजा सञ्चालनको लागि पुजारीको रुपमा मन्दिरको स्थापना कालदेखि नै विशेष गरेर खड्का (क्षेत्री) हरुलाई राख्ने गरेको पाइन्छ ।

इतिहास

पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास छ ।

महत्व

कालिका भगवती मन्दिरको गर्भगृहमा एउटा चौका उठाएको छ र त्यस चौकामाथि उत्तर र दक्षिण पारेर लहरैसंग माटोको तीनओटा अर्ध गोलाकारथुम्का उठाएको छ । त्यसदेखि माथि अर्को एक तह पेटी उठाएर त्यस्तै एउटा थुम्का उठाएको छ । यी चारै ओटा थुम्कालाई चाँदीको पाताले मारेको छ । यिनै थुम्काहरूलाई कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ ।

इतिहास

पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

मण्डपको छेउमा शिवलिङ्ग र गणेशको पनि स्थापना गरिएको छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, कुखुरा, सुँगुर, राँगो र परेवा बलि दिने छुट्टाछुट्टै ठाउँहरुको व्यवस्था गरिएको छ । मन्दिरको चार दिशामा चार ढोका रहेका छन् । पूर्व दिशाको ढोका सितिमिति खोलिदैन । त्यो ढोका खोले नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भन्दै बन्द रहँदै आएको छ । मन्दिर जीर्णोद्वारको बेला वि.सं. १९८२ मा उक्त ढोका खोल्दा यस्तै भएको विश्वास रहँदै आएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

बागलुङ कालिका भगवतिको दर्शन गर्न देशभरीका दर्शनार्थीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् । प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको देख्न सकिन्छ ।

वर्षको दुई पटक चैते दशैं र बडा दशैंमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुदैँ आएको छ । नियम पूजामा पन्चबली चढाइन्छ । नवरात्रको बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको स्थानीय बताउँछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ ।

बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटो छ । त्यो बाटोमा एउटा बाफ आउने दुलो छ । त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने भनाई रहँदै आएको छ । राती जाग्राम बस्ने कतिपय महिलाहरुले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाउने पनि गर्छन् । राजकुमारीले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किम्बदन्ती पनि रहेको छ ।

पर्यटकीय महत्व

बागलुङको ऐतिहासिक प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा एकसय ६५ मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको पानी ल्याइएको छ । कालिका मन्दिर आउने दर्शालु भक्तजनहरुलाई लक्षित गरी नौवटा धारासहित स्नान गृह पनि निर्माण गरिएको हो । मुस्ताङको मुक्तिनाथ देखी धार्मिक महत्वको साथ बगिरहेको कालीगण्डकी नदी र कालिका भगवती मन्दिरको ऐतिहासिक सम्बन्धलाई नौ धाराले थप सदृढ पारेको छ ।

मन्दिरको प्रवेश गर्ने मुल गेट बाट अगाडि जाँदा बाटोको बाँया भागमा मन्दिरको उत्तर दिशामा निर्माण गरिएको नौ धारामा नौवटै देवीका स्वरुप झल्कने मूर्ति राखिएको छ । प्रत्येक देवीका मूर्ती मुनिबाट गाईको प्रतिमूर्ति रहेको धाराबाट पानी खसालिएको छ । मन्दिरमा प्रत्येक दिन बिहान कालीगण्डकीको जल चढाउनका लागि पुजारीले नदीमै स्नान गरेर जल ल्याउनुपर्ने चलन थियो । मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनलाई समेत सहज भएको छ ।

पर्यटन प्रर्वद्धन

निरन्तर नौ धारामा कालीगण्डकीको पानी आउने हुँदा यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगायतका कारण पछिल्लो समयमा मन्दिरमा दर्शनार्थीको चाप बढ्न थालेको छ ।

प्राकृतिक सौन्दर्य

पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको दृश्य देख्न पाइन्छ ।

कसरी पुग्ने ?

बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्ग बजारदेखि दक्षिणतिर कालीगण्डकी र काठे खोलाको दोभान माथिको टापुमा वनभित्र कालिका भगवतीको मन्दिर अवस्थित छ ।

यो पनि पढ्नुहोस्
पर्वतमा अवस्थित विश्वकै ठूलो दाबी गरिएको बिशाल ढुंगा महाशिला
मुस्ताङको ऐतिहासिक पर्यटकीय गन्तव्य लोमान्थाङ दरबार र गुफा क्षेत्र
मनै लोभ्याउने मनाङको पर्यटकीय गन्तव्य थोरङला पास
कास्कीको सुन्दर पर्यटकीय गन्तब्य मौजा होमस्टे
कास्कीको हजारौ वर्ष पुरानो सुन्दर पर्यटकीय गाउँ सिक्लेश
प्याराग्याइडिङको लागि नेपालकै उत्कृष्ट स्याङ्जाको पर्यटकीय स्थल स्वेरक मैदान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !