४ बैशाख २०८१, मंगलबार

लमजुङको सुन्दर पर्यटकीय गन्तव्य काउलेपानी


काउलेपानी

पृष्ठभूमि :  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा लमजुङ जिल्लाको काउलेपानीलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा काउलेपानीलाई पनि दिइएको छ ।

परिचय

नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको बेसीसहर नगरपालिका-६ स्थित गाउँ सहरको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ । नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री बनाउने अभियान अन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरणमैत्री १८ वटा सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ घोषणा गरिएको हो ।

नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले प्यान सहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टा-छुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुँवारहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता कार्य गर्दै आएकाले वातावरणमैत्री घोषित गरिएको छ ।

होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्नेकोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुन लगायत आवश्यक सबै सामान राखिएका छन् । त्यस्तै खानपिनमा पनि उनीहरु सचेत छन् । काउलेपानी पुगेपछी आर्गा्निक अन्नको साथमा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूधदही अनि लोकल रक्सी खान पाइन्छ । भव्य स्वागत सत्कारसहित बेलुकाको खाजा, खाना, क्याम्प फायरसहितको सांस्कृतिक कार्यक्रम, सुत्ने र बिहानको नास्तासहित प्रतिव्यक्ति एकहजारको हाराहारीमा काउलेपानीसँग साइनो जोड्न सकिन्छ ।

महत्व

यस क्षेत्रमा असारको महिनामा धान रोपाई, साउनमा कोदो रोपाई, भदौमा नेवाः समुदायको जात्रा, असोजमा रोटेपिङ, कार्तिकमा कटुस, मंसिरमा धानको दाँइ, पुसमा कोदो कुट्ने, माघमा बन तरुल खन्ने, फागुनमा गुराँस टिप्ने, चैत र बैशाखमा काफल र ऐसेलु टिप्ने, र जेठ महिनामा चुत्रो टिप्ने जस्ता दर्जन बढि प्याकेजमा पर्यटकहरुलाई काउलेपानी पठाउन सकिन्छ ।

इतिहास

शाहवंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टे नजिकै रहेको छ । १५ औं शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढी लगायतका इतिहास बोकेका स्थलहरु यहाँका अमुल्य निधि हुन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

लमजुङ दरबार, काउलेपानी देवी मन्दिर लगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेल लगायतका जातजातिको बसोबास छ । काउलेपानीको होमस्टेसंगै स्थानीय वासिन्दाको कला, संस्कार र संस्कृतिबाट पर्यटकको स्वागत गरिन्छ । ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेल लगायतका जातजातीको बसोबास छ । काउलेपानीको होमस्टेसंगै स्थानीय वासिन्दाको कला, संस्कार र संस्कृतिले काउलेपानी पर्यटकीय गन्तब्यको रुपमा विकसित हँदै गएको छ ।

गाउँमा आउने पर्यटकलाई शीरखोला आमा समूहको नेतृत्वमा स्वागत सत्कार गर्ने गरिएको छ । गाउँमा पाहुना आएको बेला उनीहरु सामूहिक रुपमा स्वागत सत्कारमा जुट्दै कौडा, चुट्का, घाँटु जस्ता संस्कृति देखाइन्छ । गुरुङ, नेवार र भुजेल जाति गरी २७ घरधुरी रहेको उक्त गाउँका १२ घरमा होमस्टेको व्यवस्था मिलाइएको छ ।

पर्यटकीय महत्व

गाउँमा आएका पर्यटकलाई चैतमा काफल तथा वैशाखमा एसेलु खुवाइन्छ । पर्यटकलाई वनमा पुर्याइन्छ र आफै काफल तथा एसेलु टिप्न लगाउने गरिएको छ । पर्यटकलाई जेठमा चुत्रो, हंगेरु लगायत जडीबुटीको बारेमा जङ्गलमै घुमाएर जानकारी गराइन्छ । त्यस्तै असारमा आउने पहुनाको लागि धान रोपाइँ प्याकेज बनाइएको छ भने साउनमा कोदो रोपाइँको व्यवस्था गरिन्छ ।

असार र साउनमा पाहुनालाई खेतबारीमै लगेर स्वागत गरिन्छ । काउलेपानीमा बसोबास गर्दै आएको नेवार समुदायले देखाउने जात्रा पाहुनाको लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । गाईजात्रा, रोपाइँजात्रा, कृष्णजात्रा आदि देखाएर भदौमा पर्यटकलाई मनोरञ्जन प्रदान गरिन्छ । असोजमा जुनेली रातमा रोटेपिङ खेल्दै मादलको तालमा नाचगानको व्यवस्था गरिन्छ । सो समयमा मौसम खुल्ने भएकाले हिमालको अवलोकन समेत गराइन्छ ।

कात्तिकमा कटुस टिप्ने याममा पर्यटकलाई जङ्गलमा घुमाएर कटुस खोज्न लाने व्यवस्था गरिन्छ । असारमा रोपेको धान मङ्सिरमा पाकिसक्ने हुनाले मङ्सिरमा आउने पाहुनालाई दाईँ प्याकेजको व्यवस्था गरिन्छ । पर्यटकलाई दाईँ गर्ने खलोमा लगेर परालमा लडिबुडी खेलाउने, गोरु धपाउन लगाउने र वनभोज जस्तै खेतमै खाना खुवाउने गरिन्छ । यसैगरी पुसमा कोदो चुट्ने प्याकेजको व्यवस्था गरिन्छ । माघमा वन तरुलको प्याकेज बनाइएको छ । पाहुनालाई जङ्गल पठाउने र उनीहरुले खाजेर ल्याएको तरुल तरकारी बनाएर खुवाइन्छ । फागुनमा घर आँगनमै लालीगुराँस लटरम्मै फुलिरहेको हुन्छ । त्यसैले लालीगुराँस प्याकेज बनाइन्छ ।

काउलेपानीमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक नै बढी आउने गरेका छन् । स्थानीयवासीले तयार गरेको १२ महिने प्याकेजमा पर्यटकले भरपुर मनोरञ्जन लिने गरेका छन् । यहाँको १३ वटा घरमा होमस्टे सञ्चालनमा गरिएको छ । एउटा घरमा आठ जनासम्म पाहुनालाई राख्न मिल्छ । काउलेपानीलाई ३५ औ विश्व पर्यटन दिवसको अवसरमा मुलुकभरकै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरिएको थियो ।

प्राकृतिक सौन्दर्य

यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको कोठाबाटै अवलोकन गर्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेपछि काउलेपानी जाने आन्तरिक तथा बाह्य पर्यटकहरु बढेका थिए । काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । यहाँबाट सुर्योदयको दृश्यावलोकन, हरियो वनपाखा, विशाल लालीगुराँसको जंगल, नागवेली रुपमा बगेको मस्र्याङ्दी नदी, ३८ प्रकारका जडिबुटी, लोपन्मुख भएका वन्यजन्तुहरु हेर्न सकिन्छ । यसका साथै गाउँघरमा उत्पादन गरिएको कोदोको ढिंडो, रोटी, गाउँमै उत्पादन गरिएको सागको गुन्द्रुक अनि लोकल कुखुराको मासु होमस्टेको अर्को विशेषता बन्ने गरेको छ ।

पर्यटन प्रर्वद्धन

ऐतिहासिक स्थल गाउँ(सहरस्थित काउलेपानी होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएपछि विदेशी पर्यटकको आगमन समेत वृद्धि हुँदै गएको छ । सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानी सन् २०१४ मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटो)होमस्टे गाउँ घोषणा गरेको थियो । सरकारले घुमफीर बर्षका रुपमा घोषणा गरेको १० वटा घुम्नै पर्ने ठाउँको रुपमा काउलेपानी पनि समाबेश छ । काउलेपानी यहाँबाट १८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत गरी १४ वटा हिमश्रङखलाहरु देख्न सकिन्छ ।

पर्यटकीय सम्भावना

यहाँ एक बर्षभरीमा जति बेला र जुनसुकै पर्यटकरु आएपनि पर्यटकहरुको मन लोभ्याउने प्रशस्तै रमणिय स्थल अनि मनोरम दृश्यावलोकन गर्न सकिन्छ । होमस्टे मार्फत काउलेपानी पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । पर्यटकलाई आकर्षित गर्न र उनीहरुको लामो बसाइँको लागि बाह्रमहिने प्याकेजको व्यवस्था गरिएको हो । लमजुङको काउलेपानी होमस्टेमा ८ वर्षमा ९८ हजार ९ सय ७९ पर्यटक पुगेका छन् । काउलेपानी पर्यटन विकास समितिका अनुसार बाह्य र आन्तरिक पर्यटक गरी सो संख्याका पर्यटक काउलेपानी पुगेका हुन् । सन् २०११ मा सुरु भएको काउलेपानी होमस्टेमा ९८ प्रतिशत आन्तरिक पर्यटक पुगेका छन् भने २ प्रतिशत मात्र विदेशी पर्यटक पुगेको समितिले जनाएको छ ।

कसरी पुग्ने ?

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरबाट मोटरमा करिव ७ किलोमीटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी गाउँ समुन्द्री सतहदेखि १६०० मिटर उचाइमा छ ।

यो पनि पढ्नुहोस्  

पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली

चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !