१४ बैशाख २०८१, शुक्रबार

पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था


ricevv

दमौली, २ वैशाख । कोभिड–१९ को सम्भावित जोखिमका कारण स्वदेश नफर्किएका तनहुँको बन्दीपुर गाउँपालिकामा रहेका विदेशी पर्यटकलाई बन्दीपुर गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको छ । १२ जना विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएपनि उनीहरु बन्दीपुरमै बसिरहेका छन् ।

विगत लामो समयदेखि नेपाल भ्रमणमा रहेका उनीहरुलाई गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “नयाँ वर्षको अवसरमा ती पर्यटकलाई गाउँपालिकाको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा पनि उनीहरुलाई समस्या परे गाउँपालिकाले सहयोग गर्छ ।”
लामो समयदेखि नेपालमा रहेका कारण उनीहरुलाई बजेटको अभाव हुन सक्ने भएकाले भोलिका दिनमा बास र खाना दुवैको व्यवस्था समेत मिलाउने बारेमा पहल भइरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

बन्दीपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले बन्दीपुरमा अलपत्र परेका विदेशी पर्यटकको समस्या समाधानका लागि गाउँपालिका र पर्यटन विकास समितिले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो । “उनीहरु बन्दीपुरमा बसिन्जेल आउन सक्ने सबै समस्या समाधानका लागि पहल गरिनेछ,” उहाँले भन्नुभयो ।

सचिव पौडेलका अनुसार विदेशी पर्यटकले धेरै समयदेखि नेपालमा रहेका कारण पैसा सकिन लागेको, लकडाउनका कारण भनेको समयमा पैसा साट्न नसकिएको गुनासो गरेका छन् । उनीहरुलाई खाना र बासको समस्या परेको खण्डमा पनि गाउँपालिका र पर्यटन विकास समितिको पहलमा उनीहरुलाई खाना र बासको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

नयाँ वर्षमा विदेशीसँग शुभकामना साटासाट
नयाँ वर्षको अवसरमा बन्दीपुर गाउँपालिका र पर्यटन विकास समितिले विदेशी पर्यटकसँग शुभकामना आदानप्रदान गरेका छन् । सोमबार कार्यक्रमको आयोजना गरी गाउँपालिकाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरुको समस्या बारे बुझ्ने प्रयास गरेको थियो ।

“विगतका वर्षमा नयाँ वर्षमा बन्दीपुर खचाखच हुन्थ्यो, तर अहिले कोरोना भाइरसका कारण बन्दीपुर सुनसान छ,” समितिका सचिव पौडेलले भन्नुभयो, “बन्दीपुरमा अलपत्र रहेका पर्यटकसँग शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनायौ ।”

बन्दीपुरमा फ्रान्सका पाँच, बेलायतका एक, रुसका दुई, चीनका एक, कोलाम्बियाका दुई, क्यानडकाा एक जना गरी १२ जना रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

चट्याङले ट्रान्सफर्मरमा क्षति
सोमबार राति परेको चट्याङले तनहुँको व्यास नगरपालिका–३ पराशर टोल स्थित ट्रान्सफर्मरमा क्षति पुगेको छ । वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मरमा क्षति पु¥याउँदा उक्त वडाका विभिन्न ठाउँमा बिहान केही बेर विद्युत अवरुद्ध हुन पुगेको छ ।

चट्याङले क्षति पुगेको ट्रान्सफर्मर नेपाल विद्युत प्राधिकरण तनहुँले परिवर्तन गरेपछि विद्युत सुचारु भएको छ । व्यास नगरपालिकाको डोजरको सहयोगमा ट्रान्सफर्मर परिवर्तन गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !