१४ बैशाख २०८१, शुक्रबार

पचास फिटे ‘सहकाले झरना’मा पर्यटकको घुइँचो


पर्यटक

भद्रपुर, २५ पुस । झापाको अर्जुनधारामा वर्षौंदेखि ओझेलमा रहेको ‘सहकाले झरना’लाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरिएपछि घुमफिरका लागि आउनेको भीड लाग्न थालेको छ । अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रमा आउन पर्यटकलाई आग्रह गरेको छ ।

पूर्वपश्चिम लोकमार्गको विर्तामोडबाट २० किलोमिटर उत्तर अर्जुनधारा नगरपालिका–२ मा रहेको यो झरना ५० फिट अग्लो छ । नयाँ पर्यटकीयस्थल भएको हुँदा यसअघि यहाँ स्थानीय खेताला गोठाला मात्र नुहाउन जाने गरेका थिए । अहिले झरनामा नुहाउन, हेर्न र फोटो खिचाउन टाढादेखि युवायुवती आउने गरेका छन् ।

प्राकृतिक रूपमा सुन्दर ठाउँमा रहेको यो झरना क्षेत्र इलामको रोङ गाउँपालिका, माई नगरपालिका र सूर्योदय नगरपालिकासँग सिमाना जोडिएको झापाको अर्जुनधारामा पर्दछ । पहाडको बस्ती नजिकै रहेको यो झरना हेर्दा र वरिपरिको गाउँ घुम्दा दिन बितेको पत्तै नहुने स्थानीय यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राई बताउनुहुन्छ ।

उहाँका अनुसार अचेल सो क्षेत्रमा पैदल, साइकल र गाडी रिजर्भ गरेर घुम्न जानेको घुइँचो लाग्ने गरेको छ । अर्जुनधारा, सुखानी, सालबारी, साधुटारजस्ता धार्मिक तथा ऐतिहासिकस्थलमा आउने पर्यटक झरना पुग्ने रहरले सहकाले जाने गरेको हुँदा सरकारले त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार थप्नुपर्ने उहाँको सुझाव छ ।

पर्यटकका लागि आकर्षक एवं सुविधाजनक बनाउन अर्जुनधारा नगरपालिकाले झरना नजिकको साठीमुरे डाँडोमा श्रीकृष्ण मन्दिर र होमस्टे (घरबास) लगायतका संरचना बनाउने योजना अघि सारेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेल बताउनुहुन्छ । हाल साठीमुरेसम्म मोटर बाटो पुग्छ भने झरना क्षेत्र पुग्न केही समय पैदलयात्रा गर्नुपर्छ ।

सहकाले क्षेत्र एकदम सुन्दर, रमणीय र आकर्षक गन्तव्य रहेको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभएको छ । बस्तीदेखि एक किलोमिटर टाढा पहाडको टुप्पाबाट छङ्छङ् गर्दै सहकाले झरनाको पानी टाङटिङ खोलामा बगेर मिसिने गरेको छ । झरनाको फेदको पानीमा तिते र असला प्रजातिका माछा पाइने गरेको छ ।

यो झरना नजिक पर्यटकलाई आकर्षण गर्ने गुफासमेत रहेको नगरप्रमुख रानाले जानकारी दिनुभयो । धेरै वर्षसम्म ओझेलमा परेको र अहिले आन्तरिक पर्यटक मात्र आउनेजाने गरेको हुँदा बाह्य पर्यटकसमेत कसरी भित्र्याउन सकिन्छ भनेर नगरपालिकाले स्थानीयवासी, पर्यटनसँग सरोकार राख्ने संस्था र सञ्चारकर्मीसँग छलफल चलाइरहेको नगरप्रमुख रानाले बताउनुभयो ।

झापामा शिवसताक्षी मन्दिरदेखि तीन किलोमिटर उत्तर इलामको सिमानामा समेत सताक्षी झरना छ । अब योसमेत गरी झापामा दुईवटा झरनासहितको पर्यटकीय गन्तव्यस्थल पहिचान भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !