२४ बैशाख २०८१, सोमबार

भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि हङकङ र दिल्लीमा उडान हुने


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

अहिले हप्ताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने भएको छ । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ ।

निगमले सार्वजनिक गरेको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गरेपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् ।

निगमको दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना छ । निगमले हाल काठमाडौँबाट हङकङमा सातामा दुई उडान गर्दै आएको छ । त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ ।

हङकङ र दिल्लीमा उडान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !