२० बैशाख २०८१, बिहिबार

विज एयरद्वारा प्राधिकरणसँग भैरहवामा उडान अनुमति माग


विज एयर

काठमाडौँ । विज एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान अनुमति माग गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक १३ गते (अक्टोबर ३०) देखि विज एयरले यूएईको अबुधाबीबाट साताको तीन उडानका लागि प्राधिकरणसँग अनुमति मागेको हो ।

हङ्गेरी बेस रहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट युएईको अबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ । यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलो पटक उडान गर्न लागेको हो । उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ । सञ्चालन लागत हुने दाबी गरिएकाले यसलाई अल्ट्रा लो कस्ट जहाजसमेत भनेर चिनिएको छ ।

त्यसैकारण यो जहाजमा बिजनेस क्लास समावेश नगरिएको बताइएको छ । विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरू एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा गरेको हो ।

गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको उक्त विमानस्थलमा नियमित उडानका लागि हवाई कम्पनी सम्पर्कमा आउने क्रम बढेको छ ।कुवेतको जजिरा एयरवेजले सुरुदेखि नै साताको तीन उडान गर्दै आएको छ । विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन् ।

प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ जारी गरेलगत्तै प्राधिकरणको सम्पर्कमा आएको विज एयरले मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेगरी अनुमति मागेको गौतम बुद्ध विमानस्थलका पदाधिकारीले बताएका छन् ।

विज एयरको एयरबस ३२१ निओ सिरिजको विमान सञ्चालनमा आएसँगै वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने/जाने नेपाली र लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने देखिन्छ ।

हाल यो विमानस्थलमा एक दर्जनजति हवाई कम्पनी उडान भर्न इच्छुक देखिएका छन् । हाल सातामा तीन उडान गर्दै आएको जजिरा एयरले पनि भदौ ३० गते (सेप्टेम्बर १५) देखि नियमित दैनिक एक उडान गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !