१४ बैशाख २०८१, शुक्रबार

सरकारले पक्राउ गरी कारबाही गर्ने भएपछि पछि हटे वायुसेवा सञ्चालकहरू, उडान नियमित गर्ने


प्रदीप अधिकारी र रामेश्वर थापा

काठमाडौँ । सरकारले पक्राउ गरी कारबाही गर्ने तयारी गरेपछि वायुसेवा सञ्चालकहरू अत्यावश्यक सेवामा सूचीकृत हवाई सेवा ठप्प पार्ने घोषणाबाट पछि हटेका छन् ।

वायु सेवा सञ्चालक संघ, नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएसंगै आजबाट उडान हुने भएको हो । आज बुधबार दिउँसो ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने सहमतिमा उनीहरू आएका छन् ।

यस्तै बुद्ध एअरले सामाजिक सञ्जाल फेसबुकमार्फत ११ बजेदेखि नियमित उडान हुने जानकारी दिएको छ । यस्तै यती एअरलाइन्सले पनि सामाजिक संजाल फेसबुकमार्फत आजदेखि सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए आज बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको थियो ।

प्राधिकरणले हिजो पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढिकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको थियो ।

वायुसेवा सञ्चालक सङ्घले हिजै पत्रकार सम्मेलन गरेर प्राधिकरणको निर्णय फिर्ता नभए आज बुधबारदेखि आपत्कालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको थियो । लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरी हवाई सेवाजस्तो संवेदनशील सेवामा नागरिकको सेवाप्रति जिम्मेवार रहन सचेत गराएको थियो ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा व्यवस्थित बनाउने पहल गर्दा वायुसेवा सञ्चालक संघले अत्यावश्यक सेवा नै प्रभावित गर्ने गरी बुधबारदेखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो । यद्यपि बुद्ध एयरले भने सेवा बन्द नगर्ने जनाएको थियो ।

गृह मन्त्रालयका सचिवको समन्वयमा मंगलबार राति अबेर भएको क्यानका पदाधिकारीसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरू उडान नियमित गर्ने सहमतिमा आएका हुन् । पूर्वाधारलगायतका अरू सेवा दिन सरकार तयार रहेको उनको भनाइ छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले उडान नियमित गर्दै वार्ता पनि जारी राख्ने सहमति भएको दाबी गरे । उनका अनुसार बुधबार ११ बजेदेखि सबै हवाई कम्पनीले उडान नियमित गर्नेछन् । त्यसअघिका उडानका टिकट क्यान्सिल गरिसकिएका छन् ।

क्यानका महानिर्देशक अधिकारीले वायुसेवा कम्पनीहरूले अत्यावश्यक हवाई सेवा बन्द गरे नियामक निकाय पनि चुप लागेर नबस्ने चेतावनी दिएका थिए । उडान बन्द गर्ने वायुसेवा कम्पनीहरूको एओसी नै खारेज गरिदिने चेतावनी क्यानले दिएको थियो ।

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हड्ताल गर्न निषेधको आदेश जारी गरेको हो ।

राजपत्रमा जारी सूचनामा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइ अड्डा तथा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन, मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ । प्रकाशित सूचनानुसार हवाइ ग्राउन्डेडसँग सम्बन्धित सेवामासमेत हड्ताल गर्न निषेध गरिएको छ ।

यो पनि पढ्नुहोस्

नागरिक उड्डयन प्राधिकरणको चेतावनी : धम्की स्वीकार्य छैन

हवाई सेवा हड्ताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्न वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी

भोलि बुधबारदेखि सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई भाडा पनि बढ्यो

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानुपर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !