१४ बैशाख २०८१, शुक्रबार

‘वन पर्यटन’ विकासमा सामुदायिक वनका प्रयास


विदेशी पर्यटक

रामपुर, १ असार । पाल्पाका सामुदायिक वनले ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अवलम्बन गरी वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने कामको थालनी गरेका छन् । नेपाल सरकारले पर्यावरणको संरक्षण र सम्बद्र्धन तथा पर्यटन विकासका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अघि सारेकाले सामुदायिक वनले धमाधम वनभित्रै बहुआयामिक विकास गरी वनलाई नै आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने काममा जोड दिएका हुन् ।

जिल्लाका तानसेन, तिनाउ, रामपुर क्षेत्रका राजमार्ग तथा बजार क्षेत्रको नजिकका वनमा पर्यापर्यटन विस्तारको काम थालिएको पाइएको छ । जिल्लाका एक दर्जन सामुदायिक वनले पर्यटन विकास गर्न पूर्वाधार विकासका काम गरिरहेका छन् । तिनाउ गाउँपालिका– २ स्थित बदेलपोखरी सामुदायिक वनले पर्यापर्यटनका लागि १५ घरमा घरवास (होमस्टे) सञ्चालन गर्ने तयारीका लागि डिभिजन वन कार्यालय पाल्पाबाट रु तीन लाख अनुदानसमेत प्राप्त गरिसकेको छ ।

सो रकम मगर संस्कृतिका कपडा, बाद्यवादनका सामग्री खरिद गर्ने, घरबास चलाउने १५ घरमा अर्गानिक वस्तु उत्पादन गर्नेलगायतका योजना बनाइएको उपभोक्ता चोमलाल गिरि बताउनुहुन्छ । कूल एक सय ८४ दशमलव ९६ हेक्टर क्षेत्रफलको वन पाँच ब्लकमा विभाजन गरिएको छ । सो वनसँग एकसय दुई घरधुरी आबद्ध छन् जसमा महिला दुई सय ५७ र पुरुष दुई सय ७५ गरी पाँच सय ३२ जनसङ्ख्या छ । यो वन सिद्धार्थ राजमार्ग क्षेत्रमा रहेकाले पनि पर्यापर्यटनअन्र्तगत घरबास सञ्चालन गरी आयआर्जन वृद्धि गर्न उपभोक्ता उत्साहित भएका हुन् ।

तिनाउ गाउँपालिकाकै वडा नं ३ दोभानस्थित भुतखोला सामुदायिक वनले पर्यटकीय आकर्षणको केन्द्रका रुपमा रहेको भुतखोलाको सिद्ध सरोवर ताल संरक्षण गर्ने, धार्मिक पर्यटन क्षेत्र बनाउने काम गरिरहेको छ । यस आर्थिक वर्षमा जिल्ला वन कार्यालयबाट रु दुई लाख र तिनाउ गाउँपालिकाले रु पाँच लाख रकम सहयोग गरेको अध्यक्ष दिलकुमारी रोकाहाले बताउनुभयो ।

भुतखोला क्षेत्रमा पहिरो गएको ठाउँमा पर्खाल लगाउने, शौचालय, रेलिङसहितको भ¥याङ, बसोबासस्थल बनाउने काम भएको छ । गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ जलचर संरक्षण गर्न भुतखोलामा वनको वार्षिकोत्सवका दिन हरेक वर्ष दुई हजार माछाका भुरा छाड्ने काम भइरहेको अध्यक्ष रोकाहाले बताउनुभएको छ । जिल्लामै उत्कृष्ट वनका रुपमा पुरस्कृत हुन सफल यो वनक्षेत्रले भौगोलिक हिसाबले पर्यटनका धेरै सम्भावना बोकेको छ । सो वनको ८४ हेक्टर क्षेत्रफल छ भने यसमा ४६ घरधुरी आबद्ध छन् ।

डिभिजन वन कार्यालयले तानसेन नगरपालिका– ८ मा अवस्थित कण्ठेसरा सामुदायिक वनमा गतवर्ष विनियोजित रु पाँच लाख बजेटबाट अजिङ्गर पार्क, झरना तथा मूर्ति निर्माण गरिएको छ । तानसेन नगरपालिकाको श्रीनगरडाँडाका कैलाश वसन्त सामुदायिक वन र श्रीनगर गणेश सामुदायिक वनले पनि पर्यटन विकासको प्रचुर सम्भावना बोकेको छ ।

सदरमुकाम तानसेन बजारको माथिल्लो भागमा रहेको यस वनमा घुम्न जानेको चहलपहल ठूलो रहन्छ । यहाँ वनभोज तथा अवलोकनका निम्ति विभिन्न जिल्लाबाट आउने गरेका छन् । यहीँबाट सदरमुकाम तानसेन बजारका साथै अरु विभिन्न स्थानको रमणीय दृश्यावलोकन पनि गर्न सकिन्छ । श्रीनगर गणेश सामुदायिक वनले गतवर्ष उद्यान निर्माण गरेको छ । जिल्लाको पूर्वी भेग रामपुर नगरपालिकामा रहेका रानीवन तथा बडवान सामुदायिक वन, राम्चे सामुदायिक वन र ज्याग्दी वनले पर्यटन पूर्वाधारका काम थालनी गरेको छ । वन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माणका कार्यहरु गरिरहेको बताइएको छ ।

रामपुर नगरपालिका– ४ स्थित रानीवन तथा वडवान सामुदायिक वनले खोप्टार क्षेत्रमा पार्क, शहीद लखन थापाको शालिक निर्माण, शौचालय निर्माण, खानेपानीको व्यवस्था गरेको छ । कालीगण्डकी करिडोरले घेरेको यो क्षेत्रमा पानीको फोहरा, पौडी पोखरी, वनभोजस्थल निर्माण लगायतका योजना बनाइएको छ । चिडियाखाना निर्माण गरेर पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने कार्ययोजना तयार पारिएको वन समूहका सचिव हमिद अलिमियाँ बताउनुहुन्छ । अहिले पार्क घुम्न आउनेका लागि बेञ्चदेखि अन्य आधारभूत पूर्वाधारको विकासका कामहरु हुदैछन् ।

एक सय तीन हेक्टर क्षेत्रफलमा फैलिएको वनको चार हेक्टर क्षेत्रफललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको छ । विपन्न वर्गको आयस्तर उकास्न दश हेक्टर क्षेत्रफलमा अम्रिसो लगाइएको छ । वनमा पर्यटन पूर्वाधार निर्माणका लागि गतवर्ष एक सामुदायिक वन एक उद्यान कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट रु चार लाख रकम सहयोग प्राप्त भई पोखरी निर्माणको काम सम्पन्न भएको छ । चार ब्लकमा विभाजित यस वनमा पाँच सय ५५ घरधुरीका उपभोक्ता आवद्ध छन् ।

रामपुरकै वडा नं ५ स्थित राम्चे सामुदायिक वनले करीब पाँच हेक्टर क्षेत्रफल छुट्टाएर पर्यटन विकासका काम गरिरहेको छ । समुद्री सतहबाट करिब पाँच सय मिटरको उचाइमा रहेको वन ९९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ हाल प्रदेश सरकारले छुट्याएको बजेटले बाल उद्यान, सुविधा सम्पन्न दृश्यावलोकन गर्न मिल्ने स्तम्भ, मोटरबाटोको स्तरोन्नति, पानीको फोहरा र बगैँचालगायतका पूर्वाधारहरुको विस्तार भएको वन उपभोक्ता समितिका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताउनुभयो ।

वनको पूर्वाधार विकासका लागि प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित ५० लाखमध्ये आठ लाख ‘कन्टेन्जेन्सी’ कटाएर ४२ लाखको टेन्डरमा मोबाइल निर्माण कन्स्ट्रक्सन कम्पनीले काम अघि बढाएको हो । वन क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु ११ करोड पाँच लाख ३७ हजार बराबरको वजेट लाग्ने प्राविधिक अनुमान गरिएको वन उपभोक्ता समितिका कोषाध्यक्ष काशिनाथ रेग्मीले बताउनुभयो । यस वनमा तीन सय २१ घरधुरीका उपभोक्ता आवद्ध छन् ।

यस क्षेत्रमा करिब दुई दशकअघि वनभोजस्थल निर्माण गरिनुका साथै राममन्दिर स्थापना गरिएपछि वनलाई नै पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाइएको हो । यही वन क्षेत्रमै कालीगण्डकी उपत्यका अवलोकनका लागि पाँच तलाको भ्युटावर निर्माण गरिएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रम, वन समूहको भेला, बैठक, गोष्ठी सञ्चालन गर्न चार सय मानिस अट्ने क्षमताको सभाहल पनि छ । यहाँ मृग, खरायो, कालिज, चितुवालगायतका वन्यजन्तु र अनेक प्रकारका चराचुरुङ्गी छन् । आयआर्जन बढाउन वनको तीन हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको वन समूहका सचिव राधिका भण्डारीले बताउनुभयो ।

कालीगण्डीको तटमा रहेको रामपुर नगरपालिका– ६ स्थित ज्याग्दी वनलाई उद्यानका रुपमा विकास गरिँदैछ । हेटौँडाको शहीद स्मारक पार्कको झझल्को दिनेगरी वानस्पतिक उद्यान निर्माण कार्य थालिएको छ । करिब २६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनको चार हेक्टर क्षेत्रफलमा चिडियाखाना, बाल उद्यानसहितको पार्क बनाउन थालिएको रामपुर नगरपालिका– ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रामपुर नगरपालिकामा रहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रु चार लाख सहयोगमा काम शुरु गरिएको छ । पार्क निर्माणका लागि नगरपालिकाले यस आर्थिक वर्षमा रु पाँच लाख रकम विनियोजन गरेको थियो । सो रकममध्ये रु एक लाख पार्क भ्रमणमा खर्चिएको र बाँकी रकमले डिपिआरको काम तयार पारेको ज्याग्दी बृहत् पार्क विकास समितिका सचिव बासुदेव ढकालले बताउनुभयो । यहाँ विभिन्न जातका चराचुरुङ्गी, जडिबुटी रहेकाले पनि वन क्षेत्रलाई पार्कका रुपमा विकास गर्न लागिएको हो ।

पाल्पामा ७०२ सामुदायिक वन, ११४ कबुलियती वन, चार धार्मिक वन र ४० भन्दाबढी निजी वन रहेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरलले बताउनुभयो । डिभिजन वन कार्यालयले एक सामुदायिक वन एक उद्यान विस्तार कार्यक्रममा विभिन्न वनलाई सहयोग गर्न थालेपछि पर्यापर्यटनमा उपभोक्ताले जोड दिएका छन् । उद्यान बन्ने खालका मानिसको बढी आवजावत हुने, सडक तथा बजार क्षेत्रको नजिक रहेका वन क्षेत्रमा पर्यापर्यटन विकासको काम भइरहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख डा मोहनप्रसाद पौडेल बताउनुहुन्छ ।

‘‘वनका रुख बिरुवा नहटाएर पर्यटकीय क्षेत्र बनाउने कार्यमा जिल्लाका सामुदायिक वन लागिपरेका छन्, पर्यटकीय क्षेत्रका रुपमा पूर्वाधार बढाउँदै जाँदा वनले राम्रो आयआर्जन गर्ने अवसर प्राप्त गर्नेछन्’’ प्रमुख पौडेलले भन्नुभयो । केही निजी वन तथा कबुलियती वनले पनि पर्यटन विस्तारका कामहरु गरिरहेका छन् । निस्दी गाउँपालिका– ३ स्थित झिरुवासको कबुलियती वन अहिले पाल्पा जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन पुगेको छ । इलामको चियाबगानको झझल्को दिने कबुलियती वनमा अम्रिसो खेती गर्न थालेपछि स्थानीयवासीले राम्रो आयआर्जनको अवसर पाएको पनि जनाएका छन् । यो क्षेत्रमा हरेक समय अवलोकन र वनभोज गर्न जानेको आकर्षण बढेको देखिएको छ ।

यसरी यहाँका सामुदायिक वनहरुले घरबास सञ्चालन, विभिन्नथरि जडीबुटी र रुखहरु हुर्काउने, वनभोज तथा अवलोकनका लागि आन्तरिक पर्यटक आकर्षित गर्ने, चराचुरुङ्गी हुर्काउने, बाह्य पर्यटकलाई आकर्षित गर्न उनीहरुले दृश्यावलोकन गर्ने प्रयोजनका लागि घरबासका अतिरिक्त आवश्यक भ्यूटावरलगायतका पूर्वाधार निर्माण गर्नेजस्ता कार्यक्रम अघि सारेका छन् । यहाँका वनहरुले वन पैदावरबाट मात्र नभई यी कार्यक्रमहरुमार्फत पर्यटनको विकास गरी यसलाई पनि आयआर्जनको माध्यम बनाउने योजना बनाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !