विकास र समृद्धिको मुख्य जरोकिलो भनेको राजनीति हो । राजनीतिक स्थिरता र स्वतन्त्रता विना विकास समावेशी र सबल हुँदैन । कानुनमा राजनीति भागबण्डा हुनुहुदैन यसले सकरात्मक भन्दा नकरात्मक सन्देश जान्छ ।
करीव २४० वर्षे शाहवंशीय इतिहासलाई अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरियो । नेपालमा अर्थिक विकास र समृद्धिको प्रमुख बाधक राजतन्त्रलाई ठानिएको थियो । गणतन्त्र घोषणा सँगसँगै लोकतन्त्र र समावेशी विकासको अभ्यास सुरु भयो ।
संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य लक्ष्य राखेर समाजवादउन्मुख लोकतान्त्रिक व्यवस्थालाई अवलम्बन गरेको छ । संविधान सभाबाट नेपालको संविधान जारी गरियो । झन्डै दुई तिहाइको बलियो र स्थिर सरकार बनेको छ ।
विकास र समृद्धिको मुख्य जरोकिलो भनेको राजनीति हो । राजनीतिक स्थिरता र स्वतन्त्रता विना विकास समावेशी र सबल हुँदैन ।
तर सरकारको कार्यशैलीले जनतामा सकरात्मक सन्देश प्रवाह गर्न सकेको देखिँदैन । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मुख्य लक्ष्य राखेर अगाडि बढेतापनि जुन उद्धेश्य लिएर अघि बढेको थियो सोचे जस्तो भएको छैन । बलियो र स्थिर सरकार बनेपछि जनतामा विकास र समृद्धिको आशा ज्यादै बढेर गएको देखिएको छ ।
राजनीतिक वृत्तमा वा अन्य बौद्धिक बहसमा नेपालको विकासको दीर्घकालिन सोचका बारेमा चर्चा हुँदैन । यिनै कुरालाई मुख्य आधार बनाएर विकासको मार्गचित्र तय गरिनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । नेपालको संविधानले समाजवाद उन्मुख राज्यको निर्माण गर्ने संकल्प गरेको छ । राज्यका नीतिहरूको माध्यमबाट विकास र समृद्धिकाका सम्भावनाहरू तय गरेको छ ।
देशको सम्पत्तिको सदुपयोग कसरी गर्ने ? देशलाई कसरी नेतृत्व दिनेभन्दा पनि केही स्वार्थी समूह वा आफ्ना कार्यकर्ता र गुट उपगुटको समर्थन कसरी प्राप्त हुन्छ र तिनीहरूलाई कसरी संरक्षण प्राप्त हुन्छ भन्ने कुरामा मात्र नेताको ध्यान केन्द्रित भएको देखिन्छ ।
भिजन हुने हो र काम गर्ने दृढ संकल्प हुने हो भने उमेरको बार लाग्दैन तर नेता हुन खोज्ने तर नेतृत्व प्रदान गर्न नसक्ने हो भने देश उँभो लाग्दैन । नेतृत्व युवा नै हुनुपर्छ भन्ने जरुरी छैन । विकासको हाम्रो शैली अत्यन्त प्रक्रियामुखी र परम्परागत छ । हाम्रा ऐन कानुनले पनि नतिजालाई भन्दा प्रक्रियालाई जोड दिएका छन् ।
प्रक्रियामुखी कानुनको कार्यान्वयन झन्झटिलो त रहन्छ नै अलिकति प्रक्रिया मिचेर राम्रै काम गर्दा पनि अनियमितताको आरोप लागिहाल्छ । यस्तो अवस्था सधैँभरी रहने हो भने प्रधानमन्त्रीले भनेजस्तै देश विकास कहिल्यै अगाडी बढ्न सक्दैन ।
नतिजालाई आधार बनाएर कामको मूल्याङ्कन गर्ने खालको कानुन बनाउने हो भने विकासको गतिलाई अगाडि बढाउन सकिन्छ । विकासका लागि प्रक्रियामुखी भन्दा पनि नतिजामुखी कानुनको खाँचो छ । छिमेकी मुलुक विकासको चरम उत्कर्षमा पुग्दा समेत हामी भने विकासको बहस मात्रै गरेर समय खेर फालिरहेका छौँ ।
अब पनि हामी विकासलाई अगाडि बढाउन सकेनौ भने भावी पुस्ताले हामी सबैलाई सराप्ने छ । हामी सबैले विकास र समृद्धिलाई सार्थकता प्रदान गर्न आ-आफ्नो ठाउँबाट सक्दो सहयोग र योगदान दिनु आवश्यक छ । त्यसैले अब विकासको बहस मात्र होइन गुणात्मक ढङ्गले काम गर्ने बेला आएको छ । तब मात्र समृद्ध राष्ट्रको सपना साकार हुनेछ ।
यो पनि पढनुहोस्
देशको विकास गर्न हुनुपर्छ चतुरो र चनाखो
नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने
नेपालमा विकास किन हुन सकेन, यस्तो पाराले के देश बन्ला त ?
नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ
देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।