१४ बैशाख २०८१, शुक्रबार

निर्णायक क्रान्ति अझै बाँकी छ


रामचन्द्र तिम्सिना

जहानियाँ राणा, निरंकुश पञ्चायत, बहुदल, लाेकतन्त्र र गणतन्त्र र प्रत्यक्ष रूपमा देखियो । केही भक्त र पुजारीलाई अपवादमा राखेर सोंच्ने हो भने यो व्यवस्था, यो शैली र यो प्रणालीप्रति नागरिकहरुको असन्तुष्टि बढ्दै गएको छ । यद्यपि गणतन्त्रका केही हिमायती यसको रक्षार्थ भने अवश्य उभिएका छन् । एकपटक छातीमा हात राखेर आफैलाई प्रश्न गर्ने साहस गर्नुस् त ! आज मैले के पाएँ र यो देशले के पायाे ?

राजनीतिक शैली, पद्धति र परम्परा केहीमा फरक छ ?

व्यवस्था फेरियो विधि उही रह्यो ।

• जहानिया राणाले भाईभतिजा पोस्थे अहिले त्यही छ ।

• जहानिया राणामा नातावाद हावी थियो अहिले पनि त्यही छ ।

• पञ्चायती चुनाव जस्तो थियो अहिले पनि त्यही कायम छ ।

• हत्या, हिंसा, बलात्कार र लुटपाट यथावत छ ।

• ठुलालाई चैन सानालाई ऐन यथावत छ ।

• सामन्ती संस्कार झन् मौलाउँदाे छ ।

• गरीबले न्याय र छोरी चेली अहिले निर्धक्क हिड्न पाएका छैनन् ।

• जातीय र विभेद अझै हटेको छैन वर्गीय असमानता झन् बिकराल बन्दैछ ।

अनि फेरियो चाहिँ के त ?

•राष्ट्रपतिको गलैंचा ?

• प्रधानमन्त्रीको कुर्सी ?

• मन्त्रीहरुको गाडी ?

• नेताहरुको घर ?

• गुण्डाको जीवनशैली ?

•व्यापारीको महल ?

किसानको व्यथा उस्तै छ,

गरीबीकाे कथा उस्तै छ ।

शिक्षामा व्यापार, स्वास्थ्यमा व्यापार अझै सर्वसुलभ भएको छैन । पिछडिएका वर्ग र उत्पीडित जाती उपल्लो तहमा पुगेका छैनन् । “तावाबाट उफ्रेकाे माछाे भुङ्रोमा” भने जस्तो मात्र भएको छ । राणाको विकल्प राजा, राजाको विकल्प कांग्रेस, कांग्रेसको विकल्प कम्युनिष्ट । बश चित्रगत फरक छ चरित्रगत एउटै छ ।

जङ्गे ठिक कि त्रिभुवन ?

ज्ञानेन्द्र ठिक कि शेर बहादुर, माकुने, ओली वा प्रचण्ड ?

प्रश्नै प्रश्न तर सधैं अनुत्तरित !

हलो अड्काएर गोरु पिट्ने नियति हामी सबैले झेल्नु परेको छ ।

मुखियाको जस्तो अध्यक्षकाे दादागिरी, जिमुवालको जस्तो वडाध्यक्षको दादागिरी अनि फेरियो चाहिँ को त ? भन्दा व्यक्ति । यदि व्यक्ति मात्रै फेरिनु थियो भने त्यत्रो क्रान्ति र आन्दोलन किन ? वार्ताको टेबलमा बस्यो क्रान्ति दबाइयाे त्यसपछि सकियो होईन र ?

जनता भन्दा धेरै नेता, नेता भन्दा धेरै पार्टी आ-आफ्नै मुखौटो सिद्धान्त तर शैली एउटै विधान एउटै इन्द्रजाल जस्तो मोहनी लगाउने सत्तामा पुर्‍याउने ।

आम जनमानसले चाहे बमोजिम व्यक्ति होईन व्यवस्था फेरिनु पर्थ्यो शैली र परम्परा फेरिनु पर्थ्यो तर व्यक्ति फेरिनुलाई नै व्यवस्था सोंच्ने हो भने निर्णायक आन्दोलन बाँकी नै छ ! निर्णायक क्रान्ति अझै बाँकी नै छ ।

गोला बारुदले होईन बिचारले, पार्टीको झण्डा लिएर होईन देशको झण्डा लिएर । आउनुहाेस् फेरि एकपटक राष्ट्रभक्त नागरिक एकताबद्ध हौं राष्ट्रियताको पक्षमा नि:स्वार्थ उभिऔं ।

🇳🇵🇳🇵जय देश 🇳🇵🇳🇵

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !