२१ बैशाख २०८१, शुक्रबार

नेपाल पछि पर्नुको कारण यस्तो छ ?


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

वर्तमान अवस्थालाई नियाले र हेर्दा चाहे धार्मिकबाट होस् या सिमा विवाद किन नहोस् नेपाल भारतको पुरानो सम्बन्ध चिसिदै छ । सिमा समस्या होस् या धार्मिक समस्या किन नहोस् समझदारीमा र कुटनीतिक तरिकाबाट पहल गर्दा राम्रो हुने देखिन्छ ।

नेपालले भारतले चाहदै आएका नेपालको हित विपरित थुप्रै सम्झौता गर्दै आएको छ । यो आफैमा राम्रो पक्कै होइन । देशमा विकास हुन सके कसैसंग हात फैलाउनु पर्ने थिएन । राजाहरू छिमेकीसंग कहिलै झुक्न चाहेका होइनन् जति पनि सम्झौता गरे सवै जनताका छोराले गरे यसमा दुईमत छैन ।

राजाहरूले यो देशका लागि ठूलो योगदान दिएका थिए आज छिमेकीसंग झुक्ने बानीका कारण नै राजनीतिक व्यक्तिहरूलाई छिमेकीले टेर्न छोडेको देखिन्छ । यस्तो अवस्थामा नेपाल पुग्नुको कारण लोकतन्त्रको मर्मलाई बुझेर विकासमा जोड दिन नसक्नु स्वार्थको राजनीति सुरु गर्नुले देशको इज्जत धमिलो हुदै गएको देखिन्छ ।

आफ्नो देशमा सवैभन्दा ठूलो समस्याप्रति ध्यान दिन नसक्नु परनिर्भरमा रहेर काम गर्नु सहयोगको रासिलाई हिनामिना गर्नु जस्ता क्रियायाकलापले गर्दा देशको अवस्था दिन प्रतिदिन खस्कदो अवस्थामा पुग्दैछ । यो राष्ट्रको लागि दूरगामी विचार भएका देशको माया गर्ने खालको नेतृत्वको विकास हुन सकेन ।

उद्योग नागरिकले होइन सरकारले लगाउन सक्नुपर्छ । नेपाली भू-भागमा भएका थुप्रै खानी उत्खननका समस्या छन्, जडिबुटीका समस्या छन्, जलस्रोतका समस्या छन्, अमेरिकाले आफ्ना नागरिकले गाजा खान नेपाल पुगे भनेर गाँजामा प्रतिबन्ध लगाए, अहिले आफ्नै थुप्रै राज्यहरूमा गाँजा रोपेर डलर भित्र्याउदैछन् नेपाल भने गाँजा नष्ट गर्दै हिड्दैछ ।

विकास भनेको गरेर हुने हो केबाट सरकार र जनतालाई फाइदा हुन सक्छ भन्ने कुराको अनुसन्धान गरेर उत्पादनमा लाग्न सके देशले विकासमा फड्को मार्ने थियो । जलविद्युत मात्र उत्पादन गरेर देशलाई धनीको सुचीमा राख्न सक्ने प्रयाप्त सम्भावना छ ।

नेपालमा आम्दानीका राम्रो स्रोत हुँदा पनि हामी धेरै पछाडि छौं । नेपाल जलस्रोतले धनी छ त्यसबाट जलविद्युत उत्पादन गर्ने राम्रो सम्भावना छ । नेपालका थुप्रै नदीहरुबाट ठूलो परिमाणमा पानी बगेर खेर गइरहेको छ । जुन हाम्रो प्राकृतिक सम्पत्ति हो । यद्यपि हामीले यसलाई राम्रो तवरले प्रयोगमा ल्याउन सकेका छैनौं ।

हामीसँग उपलब्ध जलस्रोतलाई सम्पत्तिको रुपमा बदल्नको लागि केही साहस त गर्नैपर्छ । यसको लागि सबैभन्दा पहिले उपलब्ध जलस्रोतलाई कुन स्वरुपमा बदलेर राम्रो लाभ लिन सकिन्छ भन्नेबारे राम्रो तवरले अध्ययन हुनु जरुरी छ ।

नेपालको भौगोलिक परिस्थिति अनुसार हामीसँग उपलब्ध जलस्रोतलाई जलविद्युत उत्पादनमा नै लगाउन सकेको खण्डमा राम्रो लाभ लिन सकिने सम्भावना देखिन्छ । अहिले ठूलो सङ्ख्यामा नेपाली जनशक्ति रोजगारीको लागि अवसरको खोजीमा विदेशिएको अवस्था छ ।

तर नेपालमा भएको स्रोतको उपयोग गर्न नसक्दा हाम्रो सम्भावना बमोजिम जुन तवरले मुलुक विकासको गतिमा अगाडि बढ्नुपर्ने थियो, त्यस किसिमले प्रगति गर्न सकेको छैन । नेपालमा उपलब्ध जलस्रोतको सही व्यवस्थापनको माध्यमबाट नेपाललाई समृद्ध बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

अरूले उत्पादन गरी दिएर देश अघि बढ्ने सपना देख्नु नेपालीको बानी भइसकेको छ । छिमेकीले स्वार्थ पूर्ति गर्न राजालाई सफाइ गरे यति पनि नबुझ्ने हामी नेपाली देशलाई कसरी अघि बढाउन सक्छौं यस्का लागि जंगबहादुर बन्नुपर्छ । काम गरेर सानो भइन्छ भन्ने सोचले नेपाल धेरै पछाडि धकेलिएको छ ।

हामीले पढेर प्राप्त गरेको शिक्षा प्रयोग विहिन छ । के यो तालले देश अघि बढ्न सक्ला त ? काम गरे यहाँ जे पनि उत्पादन गर्न सकिन्छ । सरकारले बजार दिन सक्नुपर्छ । अहिले नेपाली बजार सवै भारत र चाइनिज सामानले ओगटेको छ । नेपाली पसिना डलरको रूपमा बाहिर जादैछ ।

अब हामीले नेपाली बजार नेपाली उत्पादनले भरिएको हुनुपर्छ । सिमामा पर्खाल लगाउने भिसाको प्रवन्ध गर्ने जस्ता परिवर्तन कारी काममा सरकारले ध्यान पुर्याउन सक्नुपर्छ । विदेशीले बोर्डर सिल होइन नेपालीले सिल गरेर आफैमा निर्भर हुने खालका काम गर्नुपर्ने समय आएको छ ।

हरेक नागरिकलाई जिम्मावारी बोध हुने खालको काममा लगाउन सक्नुपर्छ । नेपाली वैज्ञानिकहरूलाई सरकारले विकासका काममा खटाउन सक्नुपर्छ । उत्पादनको क्षेत्रमा सरकारले बढी ध्यान केन्द्रित गरेर अघि बढाउन सके परिवर्तन टाढा छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !