
इलाम । थाहै नपाई बाटोमा हिड्दा हिड्दै आँशु सुकेको थाहै भएन । हिजोसम्म एक ठाउँमा बसेर सपना बुनेको मान्छे म आज नौलो ठाउँमा जाँदैथिए । मान्छे किन बसाई सराई गर्दा रहेछन् भन्ने पनि बल्ल बुझे ।
मानिस खुशीले कोही आफ्नो घर गाउँ छोडदा रहेनछन् त्यो आफैलाई परेपछि बल्ल थाहा भो ! दिउसो अ:०१:२४ तिर हामी बिराटनगर पुग्छम् । माईजु हामीलाई पर्खेर बसिराख्नु भको थियो । आमाको भोलिको फ्लाईट थियो । सपना जस्तो लागिरहेको थियो । सबै कुरा एक्कासि भए जस्तो जीवनमा । जस्तो भएपनि मन भने दर्हो बनाएको थिए ।
माईजु खाजा पकाउन जानु भयो म पनि माईजुलाई सघाउन गए । बहिनी र आमा भने टेलिभिजन हेर्दै बस्नु भयो । मामा ९ बर्ष विदेश बस्नु भएकोले होला र माइजु पनि सिलाई बुनाईको दोकान खोलेकोले उहाँहरुको जीवनशैली राम्रो थियो आफ्नो जग्गा, घर, टेलिभिजन, फ्रिज, जुन मेरो लागि सपना जस्तै थियो ।
बहिनी सारै खुसी देखिन्थी सानो पनि भएर होला । आमा भने त्यति खुशी थिइनन् त्यो मैले राम्रो सँग बुझेको थिए । आर्थिक रुपमा सबल भएपनि सन्तान सुखबाट बन्चित थिए मेरा मामा माईजु । त्यसो त बहिनीलाई लगेर पाल्छु नभनेको पनि होईन तर आमा नै मान्नु भएको थिएन् । बहिनीलाई माइजुले आफ्नो हातले खाजा खुवाएको देखेर म केहि ढुक्क भए ।
त्यो दिन कुरा गरेरै बित्यो । हुन त पहिला पनि बसेको हो तर यो पालिको बसाई भने अलिक भिन्न थियो जहाँ म धेरै समयको लागि बस्नु पर्ने थियो । रात पर्यो खाना खाएर सुत्न खोज्छु निन्द्रा लाग्दैन । ओछ्यान नौलो भएर पनि होइन सायद आमा भोलि जाने भएर र केहि उत्साहले यानि कि म माईजुसँग भोलि कलेज हेर्न जाँदै थिए । सोच्दै निदाउँछु । बिहान माईजु उठाउन आउनु भयो सबै उठी सकेका रहेछन बहिनी पनि अघि उठेर टेलिभिजन हेर्दै रहिछे ।
मलाई सार्है लाज लागेर आयो । के हो भान्जी राति निन्द्रा परेन कि के हो । कि गाउँको कसैको याद ले सतायो । माइजुको कुरा सुनेर म झन लजाए त्यस्तो केहि होइन माईजु भनेर र बाथरुम लागे । आमा मामा माईजुलाई रुदै छोरीहरुको ख्याल राख्नु भन्दै हुनुहुन्थ्यो । म बाथरुमबाट सुनिरहेको थिए म पनि मन थाम्न सकिन । थाहै नपाई मेरा पनि आशु खसे म आफुलाई सम्हाल्दै बाहिर निस्कन्छु र केहि नभए जस्तो गर्छु । मामा पनि आमासंगै काठमाडौं जानुभयो छोड्न भनेर । आमा गएपछि बेस्सरी रोए । बहिनी पनि रोई । माईजुले धेरै सम्झाउनु भयो । बहिनीलाई टेलिभिजन हेर्दै गर्नु भनेर म र माइजु कलेजतिर लागिम । मनमा कैंयौं सपनाहरु बुन्दै र कुरा गर्दै कलेज पुगिम । महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस लेखेको ठुलो बोर्ड देखे । भान्जी यहि हो तपाईको क्याम्पस भन्नुभयो । बाक्लो सहर मान्छेको भिडमा म केहि हराए जस्तो भए । उहाँले कस्तो लाग्यो ? भनेर सोध्नुभयो । मैले राम्रो छ मात्र भने ।
हामी क्लेजभित्र प्रवेश गरिम भर्ना दर्ता जाने ठाउँ थाहा नभएकोले सोध्दै पुगिम । म प्रत्येक भवनहरु र हिडेका व्यक्तिहरु नियालिरहेको थिए । सबै चिटिक्क परेको देखे सेतो सर्ट कालो पाईन्टमा केटाहरु र सुन्ताला रङ्गको कुर्ता सुरुवालमा केटीहरु । म एकछिन त्यतै भुलिन्छु । माइजु कागजपत्र माग्नु हुन्छ म सबै दिन्छु र पैसा माइजु आफैले तिरिदिनु हुन्छ । त्यहि बेला एउटा केटा साईकल लिएर मेरो छेउमा आउछ मलाई केहि डर लाग्छ माफ गर्नुहोला ! तपाईको फोटो तल झरेको छ भन्छ । म तलतिर हेर्छु मेरो फोटो झरेको रहेछ म केहि बोल्दिन र त्यो फोटो टिप्छु । उ एकछिन मलाई हेर्छ र उ पनि लाइनमै बस्छ सायद उ पनि नयाँ भर्ना हुनुपर्छ मैले सोचे । उ बेला-बेला मलाई हेरि रहेको थियो । सायद पहिलो पल्ट कुनै केटाले मलाई यसरि हेरेको थियो । म मेरो लुगा हेर्छु कतै बिग्रेको पो छ कि सोच्छु म उसको नजरबाट लुक्न खोज्छु तर पनि उ अझै बेला-बेला हेरि रहेको थियो । मलाई केहि डर लागेर आउछ र माइजुलाई सकेन भन्छु ? माइजु सकिन आट्यो भान्जी भन्नु हुन्छ । म यसो उतिर हेर्न खोज्छु उ कतै देख्दिन उ एक्कासी हराउँछ । अघिसम्म उसले हेरेको मन नपर्ने म अब भने म आफै उसलाई खोजिरहेछु म आफैलाई थाहाछैन् किन । मनमा उ देखिदिए हुन्थ्यो भन्ने लाग्छ तर किन र केका लागि थाहा थिएन् ।
म नचाहिदो पाराले उसलाई खोजिरहेको थिए । उ हराको हराई हुन्छ तर मेरो मनलाई भने उसको हेराईले तनाब बनाइसकेको थियो । यता मेरो सबै काम पुरा हुन्छ र भोलिदेखि कलेज जानुपर्ने थियो । माइजु सक्यो भान्जी जुम अब भन्नु हुन्छ म हस भन्छु तर जानुभन्दा अगाडि उसलाई एकचोटि हेर्न मन लागेर आउछ तर उ अझै हराएको थियो । हामी कपडा किन्न पसल जान्छौ र माइजुले कलेजको कपडा किनिदिनु हुन्छ । माइजु आफै सिलाउने भएकोले हामी बजारमा खाजा खाएर र बहिनीलाई पनि खाजा किन्देर घर जान्छौ तर मन अझै त्यो केटाको बारेमा सोचिरहेको थियो । को हो उ ? र किन मलाई यसरी हेरेको होला । मानौ उसको त्यो मुहार मेरो मन मष्तिस्कमा छाप जस्तै बनेको थियो । मैले जीवनमा पहिलो पटक कुनै केटाकोबारे यति धेरै सोचिरहेको थिए ।
बाँकी अर्को भागमा…..
*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्
कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा
कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा
कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)
कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)