
काठमाडौं । साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
नेपाली सांगीतिक एवं साहित्यिक क्षेत्रका उज्ज्वल नक्षत्र रसिकको आज बिहान साढे ११ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रसिक विगत केही वर्षदेखि प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए ।
रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी उनकी छोरी भोलि नेपाल आइपुग्ने भएकाले शिक्षण अस्पतालमा शव राखिने संगीतकार बुलु मुकारुङले बताए ।
‘रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वायाँ’, ‘घरबेटी नानी आँगनीमा देउन मलाई बास’, ‘धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ’, ‘मसँग एउटा तारा छ मायाको’, ‘ए है है…’ जस्ता कालजयी गीतका स्रष्टा रसिकका ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’ (संस्मरण)लगायत कृति प्रकाशित छन् ।
रसिक विगतमा रत्न रेकर्डिङ संस्थानका अध्यक्ष एवं महाप्रबन्धक, सांस्कृतिक संस्थानका महाप्रबन्धक बनेका थिए । उनी साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक पनि थिए । नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव भएर समेत उनले काम गरे ।