६ जेष्ठ २०८१, आइतबार

पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने


पोष्टबहादुर बोगटी

काठमाडौं । आगामी चैत २८ गतेदेखि काठमाडौंमा चार लाख राशीको पोष्टबहादुर बोगटी कप स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा चैत २८ गतेदेखि सुरु हुने प्रतियोगिता वैशाख २ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन चैत २८ गते दिउँसो २ बजे दशरथ रंगशालाको कबर्ड हलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको प्रथम पुरस्कार राशी चार लाख रहेको छ । त्यस्तै द्धितीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख र सान्त्वना हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै विधागततर्फ छ विधामा दश/दश हजार र उत्कृष्ट खेलाडीलाई १५ हजार पुरस्कार रहेको बोगटीस्मृति प्रतिष्ठानका महासचिव निर्मल आचार्यले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग र नेपाल भलिबल संघको प्राबिधिक प्राबिधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ । भलिबलतर्फ पहिलो श्रृंखलामै उल्लेख्य राशीको पुरस्कार राखेकोमा धन्यवाद दिंदै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताले निरन्तरता पाउनुपर्ने पनि बताए । उनले प्रतियोगिता लिक कम नक आउट प्रणालीबाट सञ्चालन गरिने जानकारी दिए ।

पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीकृष्ण अधिकारीले सादगी नेता बोगटीलाई नयाँ पुस्तामाझ चिनाउन खेल आयोजना गरिएको बताए । प्रतिष्ठानका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष रुद्रप्रसाद ढुंगेलले गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !