१२ श्रावण २०८१, शनिबार

गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने विपक्षी दलको निर्णय


रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आजको प्रतिनिधिसभाको बैठकमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । विपक्षी पाँच दल गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो ।

विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको हो । गृहमन्त्रीले जवाफ दिइसकेपछि चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने देखिएको छ ।

सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन अर्को बैठक पनि जारी रहेको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि हिजो सहमत भएका थिए ।

गृहमन्त्री लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसद्मा अवरोध गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !