१९ बैशाख २०८१, बुधबार

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दामा आज बहस सकिएको हो ।

अदालतमा आज शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका हुन् । जवाफी बहस सकिएसँगै अब आजै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

हिजो बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ४ जना वरिष्ठ अधिवक्ता र ४ जना अधिवक्ता गरी ८ जना वकिलहरूले बहस गरेका थिए । सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन् । अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।

पीडितको पक्षबाट पनि ४ जना सरकारी वकिल र ३ जना अन्य वकिल गरी ७ जनाले बुधबार नै बहस गरेका थिए । पीडितको पक्षबाट सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरेका थिए भने वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए ।

त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको थियो ।

बहस सकिएसंगै इजलासले आजै आदेश जारी गर्ने भएको हो । लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा बहस सकिएपछि अदालतबाट आजै आदेश आउने भएको हो ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !