१४ बैशाख २०८१, शुक्रबार

पुरुषतर्फ गण्डकी, सशस्त्र तथा महिलातर्फ पुलिस क्लब विजयी


पुरुषतर्फ गण्डकी, सशस्त्र तथा महिलातर्फ पुलिस क्लब विजयी

कास्की । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी तथा महिलातर्फ नेपाल पुलिस क्लब विजयी भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको प्रतिष्र्धामा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्न सफल भयो । पुलिसले १८–२५, २५–२२, २५–२३ र २५–१६ अङ्कले आर्मीलाई पराजित गरेको हो ।
यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको टोलीले विभागीय त्रिभुवन आर्मी क्लबलाई २२–२५, २५–१४, २५–१८ र २५–१७ सहित ३–१ सेटमा जित निकाल्न सफल भएको प्रतियोगिता आयोजक टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो ।

पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले ३–२ को सेटमा नेपाल पुलिस क्लबमाथि जीत हात पारेको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा सशस्त्रले पुलिसलाई पहिलो र दोस्रो सेट २७–२५ र २५–२० अङ्कसहित जीत निकालेकामा तेस्रो र चौथो सेट १९–२५ र ९–२५ मा गुमाउन पुगेको थियो । निर्णायक अन्तिम सेटमा एपिएफले १५–१० अङ्कसहित पुलिसलाई पराजित गर्न सफल भएको थियो ।

प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डाइमण्ड एकेडेमी काठमाडौँले सहभागिता जनाएका छन् । पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०/२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !