८ पुस २०८१, सोमबार

नेपालगञ्जबाट २६७ महिला तथा बालबालिकाको उद्धार


टुहुरा बालिका

नेपालगञ्ज । पछिल्लो एक वर्षमा नेपाल–भारत सीमा नाका नेपालगञ्जबाट २६७ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेका अवस्थामा उनीहरुलाई उद्धार गरिएको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी बाँकेका ५५ महिला तथा बालबालिका छन् । यसैगरी उद्धार गरिएकामध्ये बर्दियाका ४० र दाङका ३७ जना रहेका छन् । सोही अवधिमा माइती नेपालमा खोजतलासका लागि निवेदन दिनेमा बाँके जिल्लाकै सङ्ख्या अधिक छ । श्रम र यौन शोषणमा परी उद्धार गरिएकामध्ये बाँकेका मात्रै छ जना छन् । तीमध्ये तीन जनालाई लकडाउनकै अवधिमा उद्धार गरिएको छ । लकडाउनमा आन्तरिक बेचबिखन बढी देखिएको संयोजक कोइरालाले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छाडेर रोजगारीका लागि भारत जाने गरेका छन् । “कतिपय विद्यालयको पोशाकमै मजदुरी गर्न भारत जाने गरेका छन्”, उहाँले भन्नुभयो, “भारतमा बेचबिखनको डर रहेकाले सीमाबाटै घर फर्काउने गरेका छौँ ।” पढाइ खर्चको जोहो गर्न बिदाका समयमा भारत जाने विद्यार्थीको सङ्ख्या अत्यधिक छ ।

बाँकेको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारीका लागि अवैध रुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धारको प्रयासलाई निरन्तरता दिइएको संयोजक कोइरालाको भनाइ छ । भारत र खाडी मुलुक गएर हराएका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवेदनका आधारमा उनीहरुको उद्धारको प्रयास हुने गरेको छ ।

केही महिनाअघि भारतको दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यस अघि पनि तीन जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ जनालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।

उद्धार गरिनेमा अधिकांश १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका र किशोरकिशारी छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहलहैमा घरबाट भागेर भारत जाने गरेको पाइएको छ । आर्थिक अवस्था कमजोर भएका बालबालिका बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको बताइएको छ । “घरपरिवारको स्वीकृति लिएर भारत जानेको सङ्ख्या कमै छ”, संयोजक कोइरालाले भन्नुभयो, “कतिपय किशोरकिशोरी भागेर विवाह गर्न तथा भारतमा लुकेर बस्नसमेत जाने गरेका छन् ।”

उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइ बुझाइ माइती नेपालले उनीहरुलाई अभिभावकको जिम्मा लगाउने गरेको छ । तथ्याङ्कअनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाती तथा विपन्न परिवारका भएकाले अवैध रुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाको भनाइ छ ।

कामको प्रलोभनमा अवैध रुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । राम्रो तथा सुरक्षित काम दिलाइ दिने प्रलोभनमा पारी महिलालाई अवैध रुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् ।

महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको संयोजक कोइरालाको भनाइ छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमा नाकाबाट फिर्ता पठाउने गरेको छ ।

मानव बेचविखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयले जनाएको छ ।

जोखिमपृर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचविखनमा परेकाको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्धार, पुनःस्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !