४ जेष्ठ २०८१, शुक्रबार

बाँकेमा दूध पोख्दै किसान


डेरी उद्योग

राँझा, ३ वैशाख । बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोख्नुभएको छ । दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताउनुभयो ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् । दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ । बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हँुदै गएको डुडुवा गाउँपालिका –२ बेतहनीका किसान रामसोहन यादव बताउनुहुन्छ । गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभका कारण पोखेर घर फर्कनुपरेको उहाँको गुनासो छ ।

ठूलो परिमाणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) को कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध सङ्कलनमा ५० प्रतिशत कटौती गरेको छ । आयोजनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि त्यसलाई घटाएर दैनिक ६ हजार लिटर सङ्कलन गर्ने गरिएको आयोजनाका प्रमुख योगेन्द्र साहले बताउनुभयो । उहाँका अनुसार, दैनिक सङ्कलन हुने १३ हजार लिटर दूधमध्ये एक हजार टिर बाँकेमा खपत गरी बाँकी १२ हजार लिटर पाउडर प्रशोधनका लागि चितवन र पोखरा पठाइन्छ । कोरोनाका कारण अहिले ५० प्रतिशत मात्रै दूध लिने गरेकाले दूध सङ्कलनमा पनि कटौती गर्नुपरेको हो ।

पोखरा जाने दूधमा ५० प्रतिशत कमी भएसँगै बाँकेमा किसानबाट दूध सङ्कलनमा पनि कमी गरिएको आयोजना प्रमुख साहले बताउनुभयो । ‘लकडाउनको शुरुमा एक हप्ता त होलिडे नै भयो, अहिले त्यस्तो छैन । सबै किसानको दूध खरीद गर्न सकेका छैनौँ, जसले फोन गर्छ, समस्या छ, उसको लिएका छौँ । आफैँ व्यवस्थापन गरिरहेका किसानको खोजिनिती गरेका छैनौँ’,उहाँले भन्नुभयो ।

रोकिएन भारतीय कुखुराको आयात

बन्दाबन्दीको मौका छोपी भारतबाट अवैध रुपमा आयात भइरहेको कुखुराबाट कोरोना सङ्क्रमणको जोखिम बढेको छ । बाँकेमा लुकिछिपी भारतीय ब्रोइलर कुखुरा ठूलो मात्रामा आयात हुने गरेको छ । यसरी आयातित ब्रोइलर कुखुरा सीमावर्ती परसपुर, थुकैला, जयसपुर, खजुरामा रहेका कुखुरा फार्मबाट बिक्री वितरण हुने गरेको पाइएको छ ।

अहिले प्रत्येक दिन बिहानै मोटरसाइकल र साइकलमा भारतीय कुखुरा आयात हुने गरेको खजुरा गाउँपालिका २ का अगुवा कृषक लालबहादुर खत्रीले बताउनुभयो । सबैभन्दा बढी जानकी गाउँपालिका– १ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा भारतीय कुखुरा तस्करी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

‘लकडाउनले नेपाली किसानले कुखुरा बेच्न पाएका छैनन् तर भारतीय कुखुरा अवैध रुपमा गाउँगाउँमा पुगेको छ’, उहाँले भन्नुभयो, ‘नेपाली कुखुरापालक किसानले पालेका कुखुरा लकडाउनले दाना खान नपाउने अवस्था छ तर अवैध रुपमा आयातीन भारतीय कुखुरा महँगो दरमा बिक्री भइरहेको छ ।’

उहाँले भारतीय कुखुरा आयतलाई तत्काल रोक लगाई नेपाली कुखुरापालक किसानलाई राहतको कार्यक्रम ल्याउनेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार नेपालगञ्जसँग जोडिएका गाउँमा तयार गरिएका कुखुरा फार्मबाट भारतीय ब्रोइलर कुखुराको बिक्री हुने गरेको छ । ‘बिहान ल्याएर खोरमा राख्ने र साँझपख नेपाली कुखुरा भनी बिक्री गर्ने कार्य भइरहेको छ । लकडाउनले बजारका पसल बन्द भएपछि खोरमै ब्रोइलर कुखुरा खरीद गर्नेको भीड लाग्ने गरेको छ’, उहाँले भन्नुभयो ।

जानकी गाउँपालिका पशुसेवा शाखाका स्वास्थ्य प्राविधिक दिलबहादुर खड्काले अवैध रुपमा आयात हुने गरेका भारतीय कुखुराले नेपाली कुखरा व्यवसायीसँगै मानवस्वास्थ्यलाई समेत गम्भीर असर गर्ने गरेको बताउनुभयो । उहाँले भारतबाट आयात हुने कुखुरामा धेरै मात्रामा भिटामिनलगायत औषधि प्रयोग हुने गरेकाले मानवस्वास्थ्यमा समस्या देखिन सक्ने उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बन्दाबन्दीको बेलामा मात्र नभई जुनसुकै समयमा पनि भारतीय कुखुरा नेपाल भित्रिएको पाइएमा बरामद गर्ने गरिएको बताउनुभयो । उहाँले अहिले कोरोना भाइरस महामारीका कारण नेपाल–भारत आवत–जावतमै रोक लगाइएकाले तस्करीको सम्भावना कम भए पनि सम्भावित नाकामा थप कडाइ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दानाको अभावले मर्दै

बैजनाथ गाउँपालिका वडा नम्बर २ नौबस्तामा बन्दाबन्दीका कारण नियमित रुपमा दाना पु¥याउन नसक्दा कुखुरा धमाधम मर्न थालेका छन् । डेढ वर्षदेखि सञ्चालित लक्ष्यदीप पशुपालन फार्ममा दानाको अभावमा लेयर्स जातका कुखुरा धमाधम मरिरहेको सञ्चालक दीपक गुरुङले बताउनुभयो । उहाँका अनुसार कुखुराका लागि दैनिक पाँच क्वीन्टल दाना खपत हुन्थ्यो, बन्दाबन्दीले दाना खान नपाएर दैनिक रुपमा कुखुरा मरिररहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !