१४ बैशाख २०८१, शुक्रबार

लिफ्टिङ खानेपानी योजनाको निर्माण तीव्रगतिमा


खानेपानी

बलेवा, १२ पुस । हिउँद लागेसँगै सुक्खाग्रस्त क्षेत्रका रुपमा लिइएको बागलुङ बजारका स्थानीय बासिन्दाले पानीको जोहो गर्न दिनभर खट्नुपथ्र्यो । वर्षौंदेखि खानेपानी अभावमा काकाकुल खेपिरहेका यस क्षेत्रका स्थानीयवासी अबको दुई वर्षभित्रै घरमै पानी आउने भएपछि दङ्ग देखिएका छन् । बागलुङ नगरपालिकाको सहयोगमा काठेखोला लिफ्टिङ खानेपानी योजना शुरु भएपछि घरघरमा पानी आउने हुँदा उनीहरु उत्साहित भएका हुन् ।

बजार छेवैमा रहेको काठेखोलाको पानी तानेर शुद्धीकरण गरी वितरण गरिने सो आयोजनाको भौतिक पूर्वाधार निर्माणको काम तीव्रगतिमा अगाडि बढाएको छ । दुई वर्षभित्र निर्माण कार्यसम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको आयोजनाअन्तर्गत काठेखोलामा पाँच वटा ट्याङ्की, पानी छान्ने ट्याङ्की र रातामाटामा पानी जम्मा गर्ने (रिजर्भ) ट्याङ्की निर्माणको काम तीव्रगतिमा भइरहेको आयोजनाले जनाएको छ ।

तोकिएकै समयमा सक्ने लक्ष्यका साथ निर्माण कम्पनीले भौतिक संरचना निर्माणको कामलाई तीव्र बनाएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि विसं २०७५ असार ३१ गते निर्माण कम्पनी ‘कन्काई जयमाता जेभी’ सँग सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७७ असार ३१ गते आयोजना निर्माण कार्यसम्पन्न हुनुपर्नेछ ।

गत असार÷साउनमा आएको बाढीले तीन वटा ट्याङ्की र अन्य महत्वपूर्ण निर्माण सामग्री बगाएपछि निर्माण कार्यमा केही ढिलाइ भएको आयोजनाको साइड इञ्जिनीयर केदार पाण्डेले जानकारी दिनुभयो । “तोकिएको समयभन्दा दुई÷तीन महिना ढिला गरी आयोजना सम्पन्न हुन सक्छ ,” उहाँले भन्नुभयो, “अहिले भौतिक संरचना निर्माणको काम तीव्रगतिका साथ भइरहेको छ । बाढीले बगाएको दुई वटा ट्याङ्की भेटिए पनि एउटा अझै फेला परेको छैन ।” बढीले महत्वपूर्ण सामग्री बगाउँदा रु एक करोड मूल्य बराबरको क्षति भएको इञ्जिनीयर पाण्डेको भनाइ छ ।

नेपाल सरकारको ७३ प्रतिशत र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ प्रतिशत आर्थिक योगदानमा निर्माण भइरहेको उक्त आयोजनाको कूल लागत ३० करोड २६ लाख ५९ हजार ९९५ रुपैयाँ रहेको आयोजनाले जनाएको छ । आयोजना निर्माणका क्रममा अहिले प्रशोधन एकाइ ट्याङ्की, प्रसारण तथा वितरण लाइन संरचना निर्माणको काम तीव्रगतिमा भइरहेको इञ्जिनीयर पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार भौतिक संरचना निर्माणपश्चात इलेक्ट्रोमेकानिकल वक्र्सको काम शुरु हुने छ । हालसम्म चार ट्याङ्की, दुई रिजर्भ ट्याङ्की, ७२ मिटरको सोलोस्याण्ड फिल्डर प्रोटेक्सन (पानी शुद्धीकरण एकाइ सुरक्षा) का लागि बाहिरी रिटेनिङवाल र काठेखोलामा ग्याविन वालको काम अन्तिम चरणमा पुगेको छ । खोलामा पुरिएको एउटा र सोलोस्याण्ड फिल्टर नजिकका दुई वटा गरी तीन वटा सम्पवयल तथा भित्री रिटेनिङवाल निर्माणको काम बाँकी रहेको बताइएको छ । पाइप तथा इलेक्ट्रोनिक्स सामग्री निर्माणस्थलमा आएको हुँदा आगामी असारसम्म पुरानै वितरण प्रणालीमार्फत काठेखोलाको पानी वितरण गर्न सकिने इञ्जिनीयर पाण्डेको भनाइ छ ।

आगामी असारसम्म पूर्ण संरचना नबने पनि पिउनेबाहेकका अन्य घरायसी प्रयोजनका लागि पानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाको पूर्ण संरचना बनेपछि स्वच्छ र शुद्ध पानी वितरण हुनेछ । उक्त आयोजनाबाट नगर क्षेत्रका ६० हजार उपभोक्ता लाभान्वित हुने बागलुङ नगर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

काठेखोलाको पानी ‘लिफ्ट’ प्रविधिबाट तानेर बागलुङ नगरपालिका–३ रातामाटा पु¥याइनेछ । काठेखोलादेखि ७०० मिटरमाथि रातामाटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण गरिनेछ । कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको पानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । आयोजनाबाट बागलुङ नगरपालिकाका– १, २, ३ र ४ का उपभोक्ता लाभान्वित हुनेछन् । बजार क्षेत्रबाहेकका गहते, बोक्से, सुल्डाँडा, रातामाटालगायतका थप ९०० घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ । हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घरधुरी लाभान्वित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !