१५ बैशाख २०८१, शनिबार

दलितलाई राहत प्रदान


Nepalpatra

२६ कात्तिक, बर्दिवास । छठपर्वको मुखमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का दलितले खाद्य वस्तु र ओढ्ने कम्बल पाएका छन् ।आइतबार बौद्ध भिक्षुहरूले सञ्चालन गरेका आशा र चुनौती नामक संस्थाले उक्त बस्तीको रामनगर, पलार, टोकाटोल र वनराथारुटोलमै पुगेर २०७ दलित परिवारलाई प्रतिपरिवार ३० किलो चामलको बोरा र एक/एकवटा ओेढ्ने कम्बल प्रदान गरेको हो ।

तराईको मुख्य चाड छठको मुखमा आफूहरुलाई सम्झेर बौद्धभिक्षुकोे सहयोगले पर्वमा नानीहरुलाई खुवाउन र बढ्नै लागेको जाडो छल्न ठूलो राहत मिलेको रामनगरस्थित दलित बस्तीका अगुवा जुगल सादाले बताउनुभयो । मुसहर, बाँतर, चमार, खत्वे र दुसाधसहित दलित जातिका परिवारलाई उक्त संस्थाका प्रमुख बौद्ध भिक्षु सोनाम वाङ्चेनले उक्त सामग्री प्रदान गर्नुभएको थियो ।

“सबैतिर पर्वको रमझम बढी रहेका बेला नानीहरुलाई के खुवाउला भन्ने चिन्ता थियो” पलार बस्तीकी सियानकीदेवी बाँतरले भन्नुभयो, “गुरु (बौद्ध भिक्षु) ले खाने चामल र ओढ्ने कम्बल दिनुभयो, चाडबाडमा नानीहरु के खालान् भन्नु परेन ।” चाडबाडका बेला गरीब र समाजमा आर्थिक एवं अन्य अवसरबाट पछि परेका भङ्गाहा–४का चारवटै बस्तीका दलितसमुदायको अनुहारमा केही खुशी हेर्न पाइने आसले आफूहरुले थोरै सामग्री लिएर आएको बौद्धभिक्षु वाङ्चेनले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !