१८ बैशाख २०८१, मंगलबार

हिंसामा परेका महिला सुरक्षित आवासगृहमा


baitadi

२२ साउन, बैतडी । पाटनमा महिला सुरक्षित आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाले न्याय पाउन थालेका छन् ।

विसं २०७३ मंसिरदेखि सञ्चालनमा आएको उक्त आवासगृहबाट अहिलेसम्म हिंसामा परेका ७४ महिलाले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला आवासगृहमार्फत सजिलो भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सुरक्षित आवासगृहमा हिंसामा परेकालाई महिलालाई परामर्श दिने गरिएको छ ।” आवासगृहमा घरेलु हिंसा, बालविवाह, बलात्कार, बहुविवाह, लैंगिक हिंसालगायत घटनाबाट पीडित महिला आउने गरेका छन् । हिंसामा परेका महिलालाई सहयोग पु¥याउने उद्देश्यले आवासगृह सञ्चालन गरिएको सञ्चालन समितिका संयोजक जानकी अवस्थीले बताउनुभयो ।

आवासगृहमा हिंसामा परेका महिलालाई ३५ दिनसम्म निःशुल्क खान बस्नको व्यवस्था गरिएको छ । उनीहरूलाई निःशुल्क कानूनी उपचारसमेत प्रदान गरिन्छ । अवस्थीका अनुसार ३५ दिनसम्म पुनःस्थापना नभए वा पुनः हिंसामा पर्ने देखिए पीडित महिलालाई आवासगृहमै राख्ने गरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोग, महिला तथा बालबालिका कार्यालयको समन्वयमा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थाले उक्त आवासगृह सञ्चालन गरेको हो ।

आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलालाई सहज भएको महिला विकास निरीक्षक बिष्ना भण्डारीले बताउनुभयो । आवसगृह लामो समयसम्म सञ्चालन गर्नका लागि सक्दो सहयोग गर्ने पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !