२१ बैशाख २०८१, शुक्रबार

बलात्कार मुद्दामा सिद्धबाबाले पाए जिल्ला अदालतबाट सफाइ


सिद्धबाबा कृष्णबहादुर गिरी

विराटनगर । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै साेमबार गिरीलाई सफाइ दिएको हो ।

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो । तर सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको हो ।

एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए । जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार नेपाल सरकारकाे अभियोग दाबी नपुगेकाले कोइरालाको इजलासले गिरीले सफाइ पाउने ठहर गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !