६ बैशाख २०८१, बिहिबार

विराटनगरबाट बरामद गरिएको शंकास्पद वस्तु युरेनियम नभएको पुष्टि


विराटनगर । विराटनगरबाट बरामद गरिएको शंकास्पद वस्तु युरेनियम नभएको पुष्टि भएको छ । विराटनगरबाट युरेनियमको आशंकामा बरामद गरिएको वस्तु नक्कली पुष्टि भएको हो ।

युरेनियम हुनसक्ने आशंकामा प्रहरीले दुई किलोग्रामभन्दा बढी उक्त वस्तु बरामद गरेको थियो । मोरङ जिल्लाबाट प्रहरीले दुई किलोे युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई पक्राउ गरेको थियो । मोरङ प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको थियो ।

बरामद गरिएको सो बस्तु खानी तथा भूगर्भ विभागमा परीक्षणका लागि पठाएको थियो । तर रिपोर्ट ‘नेगेटिभ’ आएकोले उक्त बस्तु नक्कली पुष्टि मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार युरेनियम भनेर नक्कली वस्तु बिक्री गर्न खोजिएको पुष्टि भएको हो । खानी तथा भूगर्भ विभागले उक्त वस्तु युरेनियम नभएको पुष्टि गर्दै रिपोर्ट उपलब्ध गराएको श्रेष्ठले बताए ।

उनका अनुसार विभागले युरेनियम हैन भनेको वस्तु के हो भनेर यकिन नभई सकेको पनु उनले बताए । सो बस्तु कहाँबाट ल्याइयो र केमा प्रयोग हुन्छ भन्ने पनि खुल्न बाँकी रहेकोले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णयसमेत नभइ सकेको उनले बताए ।

पक्राउ परेका १५ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो । यद्यपि साउन १ गते पक्राउ परेकाहरु माथिको अनुसन्धान सकिएको र साउन ३ गते पक्राउ परेकाविरुद्धको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाविरुद्धको अनुसन्धान सकिएकाहरुको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकिएको प्रहरीले जनाएको छ । वकिल कार्यालयले अभियोगपत्र तयार पारेर प्रतिवादीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी थालेको छ ।

प्रहरीको अनुसन्धानबाट एकै जना व्यक्तिले दुवै समूहलाई युरेनियम भनेर उक्त वस्तु उपलब्ध गराएको खुलेको छ। अलगअलग समूहलाई उपलब्ध गराउने व्यक्ति भने फरार रहेको र अहिलेसम्म पक्राउ नपरेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरू युरेनियम भनेर उक्त वस्तुलाई ग्राहाकसम्म पुर्‍याउने भरिया मात्रै हुन् । उनीहरूले बिक्री गर्नका लागि भारतीय ग्राहकलाई बोलाएको प्रहरीले जनाएको छ ।

गत साउन १ गते विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ८ जना पक्राउ परेका थिए । युरेनियम जस्तो पदार्थ लिई बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

यस्तै साउन ३ गते विराटनगर महानगरपालिका-३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ७ जना पक्राउ परेका हुन् । बिराटनगरकै दुधफारममा समेत केही ब्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

मोरङबाट दुई किलोे युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

युरेनियम खोज्दै भारतीय सुरक्षा टोली नेपालमा

काठमाडौँमा २.५ किलो बहुमूल्य युरेनियम बरामत, ४ जना अभियुक्त पक्राउ

युरेनियम (Uranium) भनेको के हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !