१९ बैशाख २०८१, बुधबार

आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिदै


ब्रह्मचारिणी

काठमाडौं । हिजोबाट बडादशैं शुरु भएको छ । आज नवरात्रको दोस्रो दिन नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने गरिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।  परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा उल्लेख छ ।

आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन पनि छ । नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र  महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको अाराधना गर्ने परम्परा छ।

काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

यस्तो छन् नवदुर्गाका नौवटा स्वरुप 

प्रथमं शैलपुत्री द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री नवदुर्गा प्रकिर्तितता

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

यो पनि पढ्नुहोस्     

नवरात्र प्रारम्भ र दसैंको महत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !