१४ बैशाख २०८१, शुक्रबार

तीज, धर्म र ‘शरीर-धर्म’


तीज

अचेल तीज लाग्नु भन्दा अगाडि नै हाम्रा मिडिया र विशेषगरी सामाजिक सञ्जालहरू ‘तीजमय’ हुन्छन् । सामाजिक सञ्जालका महिलाहरू धेरै अगाडि देखि नै शुभकामना आदान-प्रदान गर्छन् र प्रोफाइल फोटो पनि रातो सारी वा रातो लुगा लगाएको हाल्छन् । एक किसिमले तीजको आगमनले पुरै सामाजिक सञ्जाल ‘रातै’ देखिन्छन् ।

एकातिर सामाजिक सञ्जाल रातो हुन्छ भने अर्को तर्फ भने यही तीजको बारेमा दुईथरी एकदमै पृथक र पूर्ण विपरीत आलेखले पत्रिकाका पन्नाहरू पनि भरिन्छन् । तीनमा एक थरी वैदिक मान्यता, परम्परा र धार्मिक आस्थामा विश्वास राख्ने हुन्छन् र यस चाडलाई आदर्श चाडको रूपमा लिन्छन् । अर्को एकथरी आफूलाई ‘सचेत’ र विद्वान सम्झने खेमाका उपबुज्रुक जमात पनि हुन्छन्, जो आफूलाई खाँटी नारीवादी बताउन उत्सुक हुन्छन र समाजको सम्पूर्ण अव्यवस्थाको जड नै यही चाड भएको झै गरी यसमाथि खनिन्छन्। जो दुई अक्षर पढेको भरमा सबै सांस्कृतिक धरोहर र मान्यतामाथि ठाडो प्रहार गर्छन र तीनका मूल्य मान्यता र अन्तर्निहित गुह्य मनोविज्ञानको छेउ-टुप्पो समेत नबुझेर तीनलाई सिधै रूढिवादी भन्न रुचाउँछन् ।

सामाजिक सञ्जालमा मात्रै हैन्, देशको राष्ट्रिय दैनिकहरूमा समेत तीनका आख्यान र ‘आर्टिकल’ छापिन्छन् र त्यसमा गरमा-गरम बहस नै हुन्छन् । भनिरहनु नपर्ला आख्यान छपाउनेहरू यस मान्यताको पक्षमा हुन्छन् त ‘आर्टिकल’ वाला(वाली)हरू यसको पूर्ण विरोधमा । एकाथरी यसको पारम्परिक मान्यतामा एक अङ्गुल तलमाथि नगरी यसलाई अक्षरस पालन गर्नेमा विश्वास राख्छन त अर्का थरी यस चाड प्रति यसरी खनिन्छन्, मानौं यही एउटा चाड मनाउन छाड्यो भने नारीहरूको भरपूर उत्थान हुन्छ र देशले विकासको लामो फड्को नै मार्छ ।

गलत !, मलाई लाग्छ दुबै गलत छन् । त्यसो त शरीरले धानेको अवस्थामा वर्ष दिनमा एक दिन भोकै बस्दा कुनै बज्रपात नै हुने होइन, तर मेरो मान्यता पनि शरीर राखेर धर्म गर्नेमा नै छ । जहाँ धर्म स्व:स्फुर्त होस र जसमा कुनै पनि किसिमको नैतिक वा वैचारिक दबाबको लेस मात्रै पनि नरहोस् । मूलतः: संस्कृत शब्द ‘धर्म’ को अर्थ र बोध पनि त्यही नै हो। धर्म अर्थात मूल गुण वा सामान्य गुण ।

संसारमा कुनै पनि पदार्थ वा चेतनाको मौलिक गुण हुन्छ । मानव शरीर झन् त्यसमाथि पनि पदार्थ र चेतनाको अनुपम जोड भएकोले यसको आफ्नै विशेष गुण (धर्म) छ । अनि धर्मको विषयमा वाद-विवाद र झगडा त्यही बेला मात्रै हुन्छ जहाँ एउटा पक्ष सम्पूर्ण मानव शरीरलाई केवल चेतना मात्रै रहेको अपव्याख्या त अर्को पक्ष यो केवल भौतिक पदार्थ मात्रै भएको कु-व्याख्यामा लाग्छ । शंकराचार्यको मत समाते पनि र ‘ब्रह्म सत्य, जगत मिथ्या’ भन्ने सुगा रटान जत्ति रटेपनि मानव चेतनाको अभिव्यक्ति भौतिक चेतनकै ऊर्जाबाट मात्रै सम्भव छ भने अर्को तर्फ चेतनाको अस्वीकार गर्ने मानिसलाई पनि त्यही ‘चेतना छैन’ भन्न पनि चेतनाकै साथ चाहिन्छ । किनकी विना चेतनाको शरीरलाई आम भाषामा ‘लास’ भनिन्छ र लासले बोल्दैन।

समष्टिमा मलाई लाग्छ धर्मले हामीलाई भ्रमित गर्दैन हामी नै उल्टो गलत कृत्यलाई धर्म बताउन उत्तेजित हुन्छौ र अर्कोतर्फ संस्कृतिमाथि प्रहार गर्दैमा विद्वान् भइन्छ भन्ने धारणा पनि त्यत्ति नै गलत हुन्छ जत्ति चेतनाको अस्तित्व मान्न भौतिक शरीरलाई नै मित्थ्या मान्ने सोच ।

मलाई लाग्दैन, समयले यो कोल्टे फेर्दाको अवस्थामा समाजमा कुनै पुरूषले आफ्नी अर्धाङ्गिनीलाई बलजफत ब्रत, निराहार बस्न दबाब दिन्छ। त्यसैले खाँटी नारीवादी बन्ने होडमा यो मौलिक र गुह्य परम्परामा अन्ध प्रहार गर्नुको कुनै तुक छैन् । अर्कोतर्फ माथि लेखेजस्तै धर्म कुनै शरीर विरोधी वा ‘स्वहिंसा’ को साधन पनि होइन, त्यसैले ब्रत बस्नु सहि हो भने शरीरले धान्न नसक्ने हुँदा खानु पनि धर्म नै हो ।

हाम्रा पारम्परीक संस्कार, चाड र पर्वका भौतिक, आध्यात्मिक, लाक्षणिक, साङ्केतिक आदि धेरै तलहरू छन् । जसको ठाडो विरोध गर्नु भनेको पाँच कक्षाको किताब पढेर कालिदासको कविताको व्याख्या गर्नु जस्तै मात्रै हुन्छ। त्यस्तै प्राचिन मान्यतालाई परिस्थितिसँग मिलान र परिमार्जन नगरी हरेक कुरालाई पुरानो युगकै शैलीमा पच्छ्याउनु पनि समयानुकूल हुँदैन् त्यसैले सम्यक धर्मको पालना गरी शरीर राखेर धर्म गर्नु नै सहि हुन्छ ।

माथि नै लेखिसकेँ अहिलेको समाजमा कुनै पनि पुरूषले आफ्नी श्रीमतीलाई ढल्ने गरी भोकै बस्न भन्दैनन् । तर वर्ष दिनमा कुनै प्रेयसीले आफ्नो प्रेमीको लागि स्वेच्छाले एक दिनको आहार त्याग्छिन् भने म त्यसलाई खराब पनि मान्दिन ।

मलाई थाहा छ, मेरी श्रीमती एकदिन भोकै बसेर मेरो आयु वृद्धि हुँदैन् । तर मलाई यो पनि थाहा छ कि उनको त्यो कृत्यका कारण मेरो उनी प्रतिको प्रेम र स्नेह भने पक्कै पनि बढ्छ । त्यसैले म शरीर धर्मको मर्ममा रहेर मानिने हरेक संस्कारको पक्षमा हुन्छु र चेतनाकै विरोधमा चेतनाको प्रयोग गरेर बोलीने हरेक बोलीको विपक्षमा । किनकि धर्मको पालन गर्न शरीर नभइ हुँदैन भने मुर्दाले नै आएर नभनेसम्म म चेतनाको अस्तित्व अस्विकार्न पनि राजी छैन् ।

अन्तमा सम्पूर्ण दिदी बहिनीहरूमा तीजको हार्दिक शुभकामना !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु