२२ बैशाख २०८१, शनिबार

धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीले आजदेखि हनुमान कथा प्रवचन गर्दै


धीरेन्द्र कृष्ण शास्त्री

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए ।

बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान ८ः३० बजे काठमाडौँबाट भरतपुर विमानस्थल हुँदै दुम्कौलीस्थित शास्वतधाममा आहुने धितालले बताए ।

“शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ”, उनले भने, “हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।”

तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।

शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गर्नुभएको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आएका हुन् । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ ।

शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आर्कषक शैलीको हिन्दू मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ । आगामीसोमबार शास्त्री चितवनको मेघौलीस्थित होटल ताज सेराइमा रहने र भोलिपल्ट काठमाडौँ हुँदै सोही दिन राति दिल्ली जाने कार्यक्रम तय भएको धितालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !