५ जेष्ठ २०८१, शनिबार

आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै


धान रोपाइँ

काठमाडौँ । आज असार १५ गते । प्रत्येक वर्ष असार १५ गते मनाइने १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

असार १५ गते अवसरमा आज देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरी दहीच्युरा खाएर मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !