११ जेष्ठ २०८१, शुक्रबार

मुस्लिम समुदायले आज इद उल फित्र मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा


इद उल फित्र_नजाम

विराटनगर । इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इद उल फित्र आज मंगलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।

सरकारले आज मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मुस्लिम समुदायको पर्व इद उल फित्रका अवसरमा आज वैशाख २० गते मंगलबार बिदा दिइएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हिजो एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिइएको बताएका छन् । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम आज मंगलबार बिदा कायम भएको गृह मन्त्रालयद्वारा हिजो प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान हिजो सम्पन्न भयो । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् ।

रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना मुस्लिम समुदायका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने जानकारी दिए ।

शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारिपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्ने काम गर्वका साथ गर्ने गर्दछन् ।

नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !