राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी मन्दिर Nepalpatra राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी मन्दिर
४ कार्तिक २०७८, बिहिबार

राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी मन्दिर


तलेजु भवानी मन्दिर

काठमाडौँ । नवरात्रको अन्तिम दिन आज सर्वसाधरणको दर्शनका लागि हनुमानढोकास्थित तलेजु भवानी मन्दिर खुला गरिएको छ । प्रत्येक वर्ष महानवमीका दिन खुल्ने उक्त मन्दिरमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट आएका भक्तजनको भीड लोगेको छ ।

काठमाडौँ महानगरपालिका–२४ हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहानदेखि खुला गरिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले साँझ ६ बजेभित्र पसेका सबै भक्तजनलाई दर्शनको व्यवस्था मिलाउने जनाएको छ ।

स्थानीय महादेव मखन क्लबले सुरक्षाकर्मीसँग समन्वय गरी भीड व्यवस्थापनका साथै प्रारम्भिक स्वास्थ्य उपचारमा सहयोग उपलब्ध गराएको छ । उक्त क्लबले इन्द्रजात्रा, गाईजात्रा, शिवरात्रि, तीज, साउनको सोमबार, कृष्णजन्माष्टिमीलगायत पर्वमा त्यस सम्पदास्थलमा आउने भक्तजनको सहजतका लागि आवश्यक सहयोग जुटाउँदै आएको छ ।

विधिविधानपूर्वक कुमारीलाई राति ९ बजे मूल चोकमा ल्याएर तलेजु भवानीको दर्शन गराइने गौतम शाक्यले जानकारी दिए । कुमारीघरबाट मूलचोकसम्म कुमारीलाई लगिनेछ । जीवित देवीका रुपमा आस्था प्रकट गरिन्छ ।

कामपा–२४ का वडा सदस्य विनोद तुलाधरले मन्दिर तथा त्यस आसपास क्षेत्रमा आएका भक्तजनलाई आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर बन्द गरिएको थियो ।

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइने गरिन्छ भने दशमीका दिन बिहान शुभ सइतमा मूल मन्दिरमा लगिन्छ । मूलचोकमा अष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।

मुलुकमा कुनै प्रकारको अनिष्ट नहोस् भनेर समग्र देश र जनताको कल्याणको कामना गर्दै तान्त्रिक विधिबाट बलि दिने परम्परा छ । राज्य सञ्चालनका क्रममा शक्ति प्राप्त होस् भन्ने सङ्कल्पका साथ महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजासमेत गर्ने परम्परा छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित कोतपूजा गरिन्छ । काठमाडौँ उपत्यकामा भएका सात विश्व सम्पदास्थलमध्ये महत्वपूर्ण मानिएको यस क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिर देख्न सकिन्छ ।

त्यसैगरी प्राचीन कला, संस्कृतिको जीवन्ततासमेत यहाँ हेर्न पाइने भएकाले पर्यटकीयस्थलका रुपमा समेत विकास भएको छ । त्यस्तै आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ ।

महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजाआराधना गरिन्छ । नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ ।

यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने चलन छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।

मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा शक्तिपीठको पूजा, आराधना गरिने हुँदा भक्तजन दर्शनका लागि पुग्ने गर्दछन् । काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन् ।

नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने विश्वास छ । काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि बलिसहित पूजा गरिने हुँदा सम्बन्धित स्थानका भक्तजनको घुइँचो लाग्ने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !