२० बैशाख २०८१, बिहिबार

नयाँ वर्ष २०७८ को पहिलो दिन पशुपतिनाथमा ५ लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा


Pashupati1

काठमाडौँ । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा दर्शन गर्न भक्तजन लाममा बसेका थिए ।

पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उहाँले सुनाउनुभयो । बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् । दुई जना रसिद काटेर पनि पूजा गर्न नआएको कोषबाट पशुपतिनाथ मन्दिरभित्र खटिनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो । एक जनाले रु ५६ हजार, चार जनाले रु ११ हजार, अन्य भक्तजनले रु पाँच हजार १००, रु दुई हजार १०० को रसिद काटेर पूजा गरेको कोषले जनाएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । गत वर्ष यी सबै मेला स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !