२१ बैशाख २०८१, शुक्रबार

कोरोनाका बीच राना थारु ‘तीज’ पर्व मनाइँदै


राना थारु

महेन्द्रनगर, ८ साउन । पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायको परम्परागत तीज पर्व कोरोना भाइरस जोखिमका बीच सामान्यरूपमा मनाइँदै छ । धार्मिक एवं परम्परागतरूपमा लामो समयदेखि कञ्चनपुर र कैलालीका राना समुदायले विधिवतरूपमा तीज पर्व मनाउँदै आएका छन् ।

“यो पटक व्रत बस्ने, मिठा पकवान खाने र घरमै रमाइलो गर्ने काम भइरहेको छ”, कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ नयाँ कटानमा रहेको राना थारु होमस्टेका सचिव चेतराम रानाले भन्नुभयो, “परम्परागत पिङ स्थापना गरेर सामूहिक रमाइलो गर्ने कार्यक्रम कोरोनाका कारण हुन सकेन ।” यहाँ सो समुदायको परम्परागत पिङलाई ‘साउने डोला’ भनिन्छ ।

सचिव रानाले परम्परागत तीज मनाउने क्रममा राना थारु महिला वेषभूषासहित पुराना गीत गाउने गर्छन् । भाइ र भतिजको दीर्घायुका लागि राना थारु समुदायका महिला व्रत बस्ने गरेको सचिव रानाले बताउनुभयो । “बिहान चोखो बसेर व्रत उपसना बस्छन्”, उहाँले भन्नुभयो, “दिउँसो थारु परिवार सिमही, पुरी बनाएर पूजाअर्चना गर्छन् ।”

त्यसका साथै गाउँमै पिङ (साउने डोला) बनाएर महिला परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा छ । तीजका लागि बस्तीमा तोकिएका ‘चाकर’ले सबैलाई खबर गरेपछि सामूहिकरूपमा तीज मनाउने गरिन्छ । पिङ चढेर परम्परागत गीत गाउँदा वर्षा हुने धार्मिक मान्यता रहेको छ । साउनमा वर्षा होस् भनेर पिङमा रमाउँदै गीत गाउने प्रचलनसमेत रहेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता राना कोरोनाले तीज पर्व मनाउन समस्या भएको बताउनुभयो । “सबै महिला माइतमा गएर साउने डोला खेल्ने गर्थे”, उहाँले भन्नुभयो, “कोरोनाका कारण पर्व प्रभावित भयो ।” उहाँले थारु कला संस्कृति जगेर्ना गर्न बजेट विनियोजन गर्नुका साथै पहल गरिरहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !