१४ बैशाख २०८१, शुक्रबार

घरभाडाको विषय आपसी समझदारीमा मिलाउन अपिल


तारे होटल

पोखरा, ५ जेठ । पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पु¥याउन आग्रह गरेको छ ।

सङ्घका तर्फबाट अपिल जारी गर्दै अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेको स्मरण गराउनुभएको छ । विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिनुहुन अपिल गरिएको छ ।

विविध जटिल परिस्थिति पार गर्दै व्यवसाय सञ्चालन गर्दै गर्दा ऐतिहासिक तथा अप्रत्यासित विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिमा होटलका घरधनी र सञ्चालकबीच आपसी समझदारीबाट नै वर्तमान समस्या समाधान गर्नु अहिलेको आवश्यकता भएको अपिलमा भनिएको छ ।

सङ्घसँग सम्बन्धित होटलका घरधनी र होटल सञ्चालकले सशस्त्र द्वन्द्व, नाकाबन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइरहेको सङ्घले स्मरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गतेदेखि हालसम्म बन्दाबन्दी घोषणा गरी कार्यान्वयन हुँदै आएको र यसले होटल व्यवसाय शून्य प्रायः भएको सङ्घले जनाएको छ ।

बन्दाबन्दी खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति नरहेको भन्दै अपिलमा रोगको औषधोपचार हालसम्म नभएको र अन्य विविध कारणले केही वर्षसम्म बाह्य पर्यटकको आगमन हुने स्थिति नरहेको आकलन गरिएको छ । सबै विषयलाई दृष्टिगत गरी सङ्घले हाललाई असोज मसान्तसम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको उल्लेख गर्दै अपिलमा यस विषम परिस्थितिमा सबै व्यवसायी एकजुट भई यस अवस्थालाई पार लगाउनुपर्ने भनिएको छ ।

सङ्घले नेपाल सरकार तथा अन्य सम्बन्धित निकायसँग राहत माग गरिरहेको र सम्भवतः अगामी आव ०७७/०७८ को बजेटमा सम्बोधन हुने आशा गरिएको विज्ञप्तिमा भनिएको छ ।

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा बर्सेनि जुन ३ (अन्नपूर्ण आरोहण दिवस) का दिन अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म गर्दै आइएको अन्नपूर्ण म्याराथन एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको यस वर्ष गर्न लागिएको तेस्रो संस्करण स्थगन गरिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको म्याराथन एवं महोत्सव स्थगन गरिएको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको बताउँदै अध्यक्ष गुरुङले अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगन भए पनि आगामी वर्षमा पूर्वनिर्धारित समयानुसार नै कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराउनुभयो । कार्यक्रमका लागि विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाबाट विनियोजन हुँदै आएको रकम आगामी वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग समितिले अनुरोध गरेको छ ।

विसं २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा अन्नपूर्ण पदयात्रामार्गअन्तर्गत हिन्कु केभमा भएको दुःखद् घटना र अहिले विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणका लागि जारी बन्दाबन्दीले यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको उहाँले बताउनुभयो ।

धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थान हुने गरी स्थानीय, प्रदेश र सङ्घ सरकारसँग समितिले अनुरोध गर्दै बन्दाबन्दीलाई पूर्ण पालना गर्न आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !