४ जेष्ठ २०८१, शुक्रबार

नेपालले दियो भारतलाई लिपुलेकबारे ‘कूटनीतिक नोट’


परराष्ट्र मन्त्रालय

२९ वैशाख, काठमाडौं । नेपाल सरकारले भारतलाई लिपुलेकबारे ‘कूटनीतिक नोट’ दिएको छ । जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ । साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माण लगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ ।

राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् । परराष्ट्र स्रोतका अनुसार नेपाली भूभागभित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माण सहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ समेत दिइएको छ ।

गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । यसपछि भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चौतर्फी विरोध जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !