२१ बैशाख २०८१, शुक्रबार

संसद्को बजेट अधिवेशनको पहिलो बैठक शुरु


प्रतिनिधिसभा

२६ वैशाख, काठमाडौं । सङ्घीय संसदको बजेट अधिवेशनको पहिलो बैठक भर्खरै शुरु भएको छ । आजको संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरु भएको हो । संयुक्त रुपमा बस्ने दुवै प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भ सम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ ।

हिजो बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए-नभएको पुष्टि गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिने लगायतका कार्यसूची तय गरिएको छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !