४ जेष्ठ २०८१, शुक्रबार

उच्चस्तरीय समितिको बैठक बस्दै : लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गर्ने


कोरोना समिति

काठमाडौं, वैशाख २३ । देशमा भईरहेको लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्न कोरोना उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकमा कृषि, उत्पादनमुलक उद्योग, अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्रि र पूर्वाधार निर्माणमा रोक नलाग्ने गरी लकडाउनको नयाँ ढाँचाका विषयमा छलफल हुने बताइएको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गठित समितिले आगामी शुक्रबारबाट लकडाउनको स्वरुपमा फेरवदल हुने गरी प्रस्ताव पेश गरेको थियो । कोभिड-१९ संक्रमण नदेखिएका जिल्लामा लकडाउन खुकुलो हुने गरी तयार पारिएको खाकालाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

कृषिवाली लगाउने समय सुरु भएकाले पनि लकडाउनको स्वरुप परिवर्तन गर्न लागिएको हो । विद्यालय, चलचित्र घर, भीडभाड हुने बजार, सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा भने अहिलको व्यवस्थालाई नै निरन्तरता दिने सरकारको तयारी छ ।

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो ।

नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आज मंगलवार अहिलेसम्म ८२ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !