१४ बैशाख २०८१, शुक्रबार

श्रमिक दिवसकाे नेपाली काँग्रेस सभापति देउवाको शुभकामना


शेरबहादुर देउवा

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक श्रमिक दिवसकाे अवसरमा सम्पूर्ण श्रमिक दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस्तो छ श्रमिक दिवसकाे नेपाली काँग्रेस सभापति देउवाको शुभकामना

मे १ तारिख-श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर- जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।

अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ । नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन । यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ ।

श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु ।

अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।
जय नेपाल !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !